चितवन । चितवनको माडीबाटै हरेक शुक्रबार नागरिकता वितरण हुने भएको छ । अब माडीमा अन्य दिनहरुमा नागरिकताको लागि फाइल सङ्कलन गर्ने र हरेक शुक्रबार नागरिकता वितरण हुने भएको हो ।
नेकपा (एमाले)माडी नगर कमिटीले ईलाका प्रशासन कार्यालय माडीमा सेवा अवरुद्ध भएको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको थियो ।
नगर कमिटी अध्यक्ष नारायणप्रसाद अधिकारी र सचिव श्रीप्रसाद दवाडीद्वारा संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्रमा ईलाका प्रशासन कार्यालय माडीमा प्रमुख नहुँदा नागरिकता बनाउने कार्यदेखि मतदाता नामावली संकलन समेत प्रभावित भएको जनाउँदै तत्काल कार्यालय प्रमुख पठाउन अनुरोध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कार्यालय प्रमुख नहुँदा माडीवासीलाई परेको समस्याका बारेमा जानकारी भएको जनाउँदै नागरिकता बनाउने कार्यदेखि मतदाता नामावली संकलन समेत प्रभावित भएकोले जिल्ला प्रशासन कार्यालय चितवनले तत्काल अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि हरेक हप्ता शुक्रबार भरतपुरबाटै आएर सेवा सञ्चालन गर्ने र दीर्घकालिन समस्या समाधानको लागि छलफल गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

