चितवन। फोटो पत्रकारितालाई व्यावसायिकरूपमा अगाडि बढाउन बागमती प्रदेशका पत्रकारलाई तालिम प्रदान गरिएको छ । चितवनको सौराहामा नेपाल फोटो पत्रकार समूहको समायोजन तथा बागमती प्रदेशको आयोजनामा प्रदेशका सक्रिय ४० पत्रकारलाई व्यावसायिक तालिम दिइएको हो ।
फोटो पत्रकारितालाई निर्वाहमुखीबाट कसरी विश्व बजारसम्म पु¥याउन सकिन्छ भन्नेबारेमा तालिम अवधिभर केन्द्रित भई तालिम दिइएको नेपाल फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो । फोटो पत्रकार निश्चित ठाउँमा मात्र नभई विश्व बजारसम्म पुग्न धेरै प्राविधिक पक्षलाई ध्यान दिनुपर्ने भएकाले यसमा लाग्न चाहनेलाई सैद्धान्तिक र प्रयोगात्मक तालिम दिइएको वन्तले बताउनुभयो ।
बागमती प्रदेशपछि देशका सबै प्रदेशका फोटो पत्रकारलाई क्रमशः तालिम प्रदान गरिएको उहाँको भनाइ थियो । तालिममा वरिष्ठ फोटो पत्रकार वन्त, सुनिल शर्मा, नवराज श्रेष्ठ, सुशीलकुमार श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । साथै फोटो पत्रकार समूह बागमती प्रदेशको प्रथम अधिवेशनले नारायण सिलवालको अध्यक्षमा नयाँ ११ सदस्यीय नयाँ कार्यसमिति गठनसमेत गरेको छ ।

