चितवन। नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी)को विषयमा सत्तारुढ गठबन्धनभित्रै विमति रहेको बताएका छन् । सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले गठबन्धनभित्रै विमति रहेको बताएका हुन्।
प्रधानमन्त्री र अन्य दलहरु बीच नै गम्भिर असहमति देखिन्छ । ‘यसले नेपालको राजनीतिक संकटलाई थप गहिराउने हो कि भन्ने अवस्था देखा पर्दैछ’, उनले भने ।
एमसीसीको विषयमा सत्तारुढ दलभित्रै असमझदारी रहेकाले सत्तारुढ दलले धारणा बनाएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए । एमसीसीको अन्याेलताले वैदेशिक सहायताको विषयमा अमेरिकासँगको सम्बन्ध कमजोर हुन सक्ने पनि उनले बताए ।
वर्तमान अवस्थाको समाधान बुद्धिमता ढंगले गर्नुपर्ने भएपनि सरकार त्यसतर्फ नलागेको उनको भनाइ छ । संकट समाधानका लागि एमालेले सहि ढंगले सहयोग गर्ने उनले बताए ।

