चितवन । भरतपुर २५ मा रहेको राष्ट्रिय मावि शोशी कुनै समय मर्जको अवस्थामा पुगेको थियो । न भौतिक संरचना नै थिए न त स्कुलको जग्गा नै थियो । भत्कन लागेको पुरानो भवन लिएर कक्षा ५ सम्म चलेको विद्यालयमा न विद्यार्थी संख्या नै पर्याप्त थियो ।
यस्तो अवस्थाको विद्यालय देखेपछि सबैले अर्को स्कुलसँग मर्ज गर्न भनियो । पढाउने भवन पनि छैन, पुरानो भवन भत्कन लाग्यो । विद्यार्थी संख्या नै घट्दै गयो । अब विद्यालय मर्ज गर्न तयारीमा जान थाले स्थानीय पनि । सरकारले पनि विद्यार्थी संख्या कम भएको विद्यालयलाई अर्को ठूलो स्कुलसँग गाभ्ने रणनीति ल्यायो ।
५ वर्षअघिको इतिहास सम्झन्छन् निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी न्यौपाने । उनी भन्छन्, ‘विद्यालयको पुरानो भवन जीर्ण अवस्थामा थियो, विद्यार्थी खेल्ने त परको कुरा हिँड्ने ठाउँ पाउन पनि मुस्किल थियो । सात कठ्ठा १० धुरमा विद्यालय भवनदेखि शौचालयसम्म अटेका थिए ।’

२०७३ सालमा न्यौपाने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर आए । उनी जाँदा विद्यालयमा विद्यार्थी संख्या जम्मा १०० थियो । आठ कक्षासम्म चलेको विद्यालयमा जम्मा १०० विद्यार्थी हुँदा भएका दरबन्दी पनि तत्कालीन जिल्ला शिक्षा कार्यालयले काट्यो । विद्यालय मर्ज गर्न दबाब दियो । जीर्ण भवनको ढंगा इँटाहरु उप्किन थाले । विद्यालय बाईबाई भन्ने अवस्थामा पुग्यो ।
‘रातभर निदाउन सकिनँ, के गरेर विद्यालय उठाउने भन्नेमा लागेँ । सुरुमा देउसीभैलो कार्यक्रम गरियो । सात लाख उठ्यो’ उनले भने, ‘देउसीभैलो कार्यक्रमपछि स्कुल बनाउन सकिन्छ, अब मर्ज होइन, यहीँ स्कुल राखेर ख्याति कमाइन्छ भन्ने आशा जगायो ।’ उनका अनुसार विद्यालयमा अंग्रेजी मिडियम चलाउन थालेपछि विद्यार्थी संख्या बढ्यो, अनि विस्तारै स्कुलले काँचुली फेर्दै गयो ।

न्यौपाने भन्छन्, ‘अंग्रेजी मिडियम चलाएर गुणस्तरीय शिक्षा दिएपछि अरु स्कुलका विद्यार्थी राष्ट्रिय मावि शोशीमा तानिए। कुनै बेला मर्ज गर्न दबाब दिनेहरु अहिले स्कुलको प्रगति देखेर जीब्रो काट्छन् ।’ अहिले स्कुलको आफ्नै जग्गा १२ कठ्ठा पुगेको छ । १२ कोठाको नयाँ भवन बनेको छ । विद्यार्थी संख्या साढे पाँच सय कटेको छ । भवन नभएर थप विद्यार्थी भर्ना गर्न नसक्ने अवस्था छ । विद्यालयको बस सञ्चालनमा छ । अन्य विद्यालयको विद्यार्थी राष्ट्रिय मावि पढ्न आउने वातावरण बनेको छ ।
विद्यालयले स्वर्ण महोत्सव मनाएर २५ लाख रकम संकलन गरेपछि कहिल्यै पछि फर्केर हेर्न नपरेको निवर्तमान अध्यक्ष काशी न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘विद्यालयमा राजनीति घुुसाइयो तेरो मान्छे र मेरा मान्छे भनियो भने स्कुल बिग्रन्छ, स्वच्छ छविको साथ असल कर्म गरियो भने स्कुल बनाउन सकिन्छ भन्ने उदाहरण राष्ट्रिय मावि शोशीले दिएको छ ।’
स्कुल बनाउन भरतपुर महानगरपालिकाले ठूलो सहयोग गरेको छ । प्रदेश सांसद रामलाल महतोले स्कुलको भवन निर्माणको लागि प्रदेश सरकारबाट ५० लाख पारिदिए । विद्यालयलाई १० कक्षासम्म लैजान तत्कालीन शिक्षामन्त्री स्व डिआर पौडेलले ठूलो भूमिका खेले । सोही क्षेत्रका सांसद पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद विकास कोषबाट १० लाख रुपैयाँ पारिदिए । पूर्वमन्त्री विक्रम पाण्डेले कम्प्युटर प्रदान गरे । सांसद उमेश श्रेष्ठले पनि स्कुलमा कम्प्युटर सहयोग गरे ।

‘सबै राजनीतिक दलले सहयोग गरेका छन् । सबैले यो विद्यालयलाई मेरो भन्ने भावनाले सहयोग गरेका कारण आज विद्यालय प्राविधिक शिक्षा चलाउन सक्ने अवस्थामा आएको छ’ न्यौपानेले भने । न्यौपानेले गरेको योगदानको कदर गर्दै विद्यालयले उनलाई बिहीबार सम्मानसमेत गरेको छ ।
बिहीबार विद्यालयले नवनिर्मित भवन उद्घाटन तथा ५४ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मितभवनको उद्घाटन गरेकी हुन् । प्रमुख दाहालले एउटा ४ कोठे भवन र २ तलाको आठ कोठे भवन उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा उनले भनिन्, ‘यस विद्यालयलाई ११ र १२ कक्षा बनाएर प्राविधिक धारको विद्यालय बनाउने योजना बनाएकी छु ।’

उनले भौतिक पूर्वाधार र विद्यार्थी नहुँदा मर्ज हुने स्थितिमा पुगेको विद्यालयको प्रगतिमा महानगरलगायत सबैको सहयोगबाट विद्यालय यहाँसम्म आएको बताइन् । प्रमुख दाहालले शोशी स्कुललाई कक्षा ११ र १२ मा बिस्तार गरी प्राविधिक शिक्षा पठनपाठन गराउन महानगरले आवश्यक भौतिक संरचनादेखि अन्य पूर्वाधार निर्माणमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश चौधरीले प्राविधिक शिक्षा चलाउने गरी विद्यालयलाई अगाडि बढाउने बताए । उनले भने, ‘निकै ठूलो संघर्षबाट विद्यालय यहाँसम्म आएको र यसलाई अझ अगाडि बढाउन निरन्तर लाग्नेछु ।’ उनका अनुसार बालविकास मात्रै १३७ र स्कलभर ५७५ विद्यार्थी रहेका छन् । विद्यालयका प्रअ मैतसिहं तामाङले विद्यालयलाई अगाडि बढाउन आफू निरन्तर लाग्ने बताए ।

वार्षिकोत्सव एवम् अभिभावक दिवस कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष काशी न्यौपाने, भरतपुर २५ का वडाध्यक्ष तथा विद्यालयका पूर्वअध्यक्ष विजय भुजेल, पूर्व प्रअ हरिप्रसाद सुवेदी, बाह्य कार्यक्रम संयोजक रुपेश सुनार, शैक्षिक सुधार योजना प्रमुख शिव पौडेल, कर्मचारीको तर्फबाट सपना भट्टराई, प्रेमकुमारी महतो, शिक्षिका विनिता श्रेष्ठ, लेखापाल सुनपति बसेल, सहायक प्रअ तारानाथ अधिकारीलाई नगदसहित सम्मान गरिएको थियो ।

