चितवन । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चितवनका १७ जनाले उमेदवारी दर्ता गरेका थिए । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले उम्मेदवारी दर्ता फिर्ता गरेपछि चितवनका १६ जना केन्द्रीय सदस्यको चुनावी मैदानमा छन् । उनीहरु यतिबेला भोट माग्नमा व्यस्त छन् । पदाधिकारीमा चितवनका कुनै नेता छैनन् ।
१६ जनामध्ये चितवनका सभापति जितनारायण श्रेष्ठ शेखर कोइरालाको प्यानलको सुचीमा देखिएका छन् । श्रेष्ठले आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा उमेदवार मनोनयन गरेका छन् । यस्तै चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ पनि कोइरालाको प्यानलको सुचीमा छन् । उनले पनि आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा उमेदवार दिएका छन् ।
यस्तै, चितवनकी गीता देवकोटा पनि कोइराला प्यानलको सुचीमा रहेकी छन् । उनले खस आर्य महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवार दिएकी हुन् । यस्तै थारु खुला केन्द्रीय सदस्यमा चितवनका साजनकुमार महतोले उम्मेदवार दर्ता गरेका छन् । उनको नाम पनि कोइराला प्यानलमा देखिएको छ । यस्तै केन्द्रीय सदस्य खुलातर्फ उमेदवार दर्ता गरेका चितवनका युवा नेता दिनेश कोइराल र पुराना नेता प्राडा कृष्ण खनियाँको नाम पनि कोइरालाको प्यानलमा रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलमा चितवनका सांसद उमेश श्रेष्ठको नाम रहेको छ । उनी हालका राज्यमन्त्री हुन् । यस्तै, खस आर्यतर्फका उमेदवार बनेका चितवनका नेता प्रकाश अधिकारी पनि देउवाको प्यानलको सुचीमा छन् । चितवनका
अन्य केन्द्रीय सदस्यका उमेदवारहरु रामकृष्ण घिमिरे, शान्ति परियार, विनु रायमाझी, भरत गुरूङ, गीताकुमारी गुरूङ, अञ्जनी श्रेष्ठ, विष्णुमाया परियार र सावित्री बोगटी पाठकले प्यानलबारे खुलेका छैनन् ।

