चितवन । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पुनर्गठन गरिएको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार गत ८ माघमा भएको राष्ट्रिय भेलाले दिएको म्याण्डेडअनुसार २४९ सदस्यीय केन्द्रीय कमिटीको पुनर्गठन गरिएको हो ।
उनका अनुसार केन्द्रीय कमिटीमा २७ जना पदाधिकारी कायम भएका छन् । बस्नेतको अध्यक्षतामा पुनर्गठन भएको केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, उपाध्यक्षहरूमा गणेश पाण्डे, लालबाबु शेख, लीलाराज भट्टराई, सविन प्रियासन चौधरी र वीरबहादुर गिरी छन् ।
प्रेस चौतारीको महासचिवमा राजेश राई र उपमहासचिवमा हिरामान लामा चयन भएका छन् । त्यसैगरी सचिवमा शुरोजंग पाण्डे, रामकृष्ण शर्मा, भरत केसी, देविका घर्ती मगर र कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका पदाधिकारी र सदस्यलाई हटाएर नयाँ सदस्य र पदाधिकारी थप गरिएको अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस चौतारीको केन्द्रीय कमिटीमा चितवनका ६ जना परेका छन् । पत्रकार महासंघ चितवनका पूर्वअध्यक्षहरु राधेश्याम खतिवडा, हरि पोख्रेल केन्द्रीय कमिटीमा परेका छन् । यस्तै, चितवनका अन्य पत्रकारहरुमा तिलक रिमाल, शालिग्राम नेपाल, तीर्थ नेपाल र शिशिर सिंखडा चौतारीको केन्द्रीय कमिटीमा परेका छन् ।

