पाल्पा। जिल्लाको बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुले कोभिड-१९ को नयाँ भेरियन्टबारे प्रशिक्षण लिएका छन् । नेपालमा समेत देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो जोखिमलाई मध्यनजर गरि जानकारीका लागि तालिम सञ्चालन गरिएको हो।
गाउँमा बसेर नागरिकको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको सचेता, जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तालिम प्रदान गरिएको हो।
ग्रामीण स्वाबलम्बन विकास केन्द्र काठमाडौंको आयोजना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिको व्यवस्थापन , बगनासकाली गाउँपालिकाको समन्वय तथा माल्टेश्वर इन्टरनेशनल र जर्मन कोअपरेसनको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।
तालिममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले कोभिड-१९ को नयाँ भेरियन्टले पालिकामा पार्न सक्ने प्रभाव र हालको अवस्था तथा यसको जाखिम न्यूनीकरणका लागि जनप्रतिनिधिहरुको भूमिका विषयमा सहजीकरण गरेका थिए।
बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले कोभिडको नयाँ भेरियन्टको रोकथामको लागि बनेका योजनाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दे बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले कोभिड-१९ महामारी न्यूनीकरण र कोभिड प्रभावितहरुलाई उचित कार्यक्रम बनाएर अगाडि बढेको बताए।
कोरोनाको भेरियन्टको ओमिक्रोन भाइरस न्यूनिकरणका लागि पालिकामा स्वास्थ्य सर्तकता अपनाइएको उनको दाबी थियो । तालिममा बगनासकालि गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो।

