काठमाडौँ । भारतको तामिलनाडूमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको छ।
यससँगै उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको छ। दुर्घटनामा रावतसँगै उनकी पत्नीको पनि निधन भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ। तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकोप्टर दुर्घटनामा रावत, उनकी पत्नी र अन्य सैन्य अधिकारीको निधन भएको हो। यो दुर्घटनामा परेका एकजना सैन्य अधिकारीको उपचार जारी छ।
उक्त हेलिकोप्टर दुर्घटनापछि रावतलाई अस्पताल भर्ना गरिएको थियो। त्यहीँ उनको निधन भएको भारतीय एयर फोर्सले जनाएको छ। भारतीय सेनाको एमआई १७ भी ५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको थियो। घना जंगलमा भएको यस दुर्घटनापछि आगो लागेको थियो। यसमा गम्भीर घाइते भएका रावतसहितलाई उपचारका लागि अस्पताल लगिएको थियो। यो हेलिकोप्टरमा भारतीय रक्षा प्रमुख जनरल रावत र उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए। समाचार अनुसार अहिलेसम्म १४ मध्ये १३ जनाको ज्यान गएको हो।

