चितवन । पिसिएल नर्सिङ पढाउनको लागि चितवनका दुई वटा कलेजलाई ढोका लागेको छ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले हालै भर्ना खुलाउने निर्णय गरेका ४५ कलेजमध्ये १५ वटा कलेजमा पिसिएल नर्सिङ भर्ना रोक लगाइएको छ, जसमा चितवन दुई वटा कलेज परेका छन् ।
आयोगले चिकित्सा शिक्षा ऐन विपरित सिटिइभिटीले विश्वविद्यालय, प्रतिष्ठानहरु र उनीहरुका आंगिक र सम्बन्धन प्राप्त १५ कलेजमा नर्सिङ भर्ना खुलाएको भन्दै उक्त कार्य रोक्ने निर्णय गरेको हो। १५ कलेजमध्ये पिसिएल नर्सिङ पढाउन चितवनका दुई कलेजलाई ढोका लागेको हो। चितवनको कलेज अफ मेडिकल साइन्सेज र एनपिआइ नारायणी सामुदायिक अस्पतालमा पिसिएल नर्सिङ पढाउन रोक लगाइएको हो।आयोगले विश्वविद्यालय तथा प्रतिष्ठान र सिटिइिभटीलाई समेत उक्त कार्य रोक्न भनिसकेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज चितवन आएर चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताएपछि त चितवनका यी दुई कलेजले पिसिएल नर्सिङ पढाउन सक्ने आधार झन् टर्दे गइरहेको छ । मन्त्री पौडेलले पिसिएल नर्सिङ अध्ययन विसं २०८० देखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने बताएका छन् ।

