चितवन। पछिल्लो समय चितवन शैक्षिक हब बन्दै गइरहेको छ । हरेक किसिमका शिक्षा चितवनमै पाइन्छ । चितवनका गाउँगाउँमा प्राविधिक शिक्षा पाइन्छ । यहाँका कतिपय स्कुलले माध्यमिक शिक्षादेखि नै प्राविधिक शिक्षा सुरू गरेका छन् । कुनै समय साइन्स पढ्न पनि काठमाडौँ धाउनुपर्ने अवस्था थियो, तर अहिले हरेक किसिमको शिक्षा चितवनमा पाइएको छ । चितवन जिल्लाकै गाउँमा आफूले रोजेको प्राविधिक विषय पढ्न पाइने अवस्थाको विकास भइरहेको छ ।
मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर–२३, जगतपुरमा बहुप्राविधिक प्रशासनिक भवनको शिलान्यास भइसकेको छ । यसै वर्षदेखि होटल म्यानेजमेन्टको पढाइ सञ्चालन भएको छ । भरतपुर–२५ मा रहेको प्रभात माविले केही वर्षदेखि नै कक्षा ९ देखि नै सिभिल इन्जिनियरिङको पढाइ गरिरहेको छ । प्रभात माविमा कक्षा १२ सम्म सिभिल इन्जिनियरिङ पढ्न पाइन्छ ।
भरतपुर–२७ मा रहेको जानकी माध्यमिक विद्यालयले साइन्स कक्षा चलाएको छ । जानकीमा १२ कक्षासम्म विज्ञान विषय पढ्न पाइन्छ । भरतपुर–२२ मा रहेको भानु माध्यमिक विद्यालयले गत वर्षदेखि नै कक्षा १२ सम्म कानुन विषयको पढाइ गरिरहेको छ । भरतपुर महानगरभित्रका ग्रामीण क्षेत्रमा रहेका ७ वटा विद्यालयले यतिबेला प्राविधिक शिक्षाको पढाइ सञ्चालन गरिरहेका छन् ।

चितवनमा प्राविधिक धारका ७ वटा विद्यालय छन् । रत्ननगरको नेपाल मावि, (वाली विज्ञान), राप्तीको बुद्धशान्ति मावि (पशुविज्ञान), माडीको माडी मावि (पशुविज्ञान), इच्छाकामनाको त्रिवेणी बराह मावि (कम्प्युटर इन्जिनियर, भरतपुरको प्रभात मावि (सिभिल इन्जिनियर) भरतपुरकै भीमनगर मावि (वाली विज्ञान) चलाएका छन् ।
भरतपुर महानगरमा रहेका ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षाको विकास भइरहेको छ, विद्यालयहरुले प्राविधिक विषय सञ्चालन गरिरहेका छन्’, भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले भने, प्राविधिक विषय पढ्न सहर जानुपर्ने बाध्यता अब छैन, गाउँगाउँमा प्राविधिक शिक्षाको पढाइ हुन थालेका छन् ।’ उनका अनुसार प्राविधिक धारका विषय पढ्ने विद्यार्थीहरुलाई रोजगारको अवसर बढी हुन्छ, उनीहरु बेरोजगार भएर बस्नुपर्ने अवस्था पर्दैन ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई शैक्षिक हब बनाउने आफ्नो संकल्प भएको बताइन् । उनले भनिन्, ‘यहाँका विद्यार्थीहरु प्राविधिक धारका जुनसुकै विषय पढ्न बाहिर जान नपर्ने अवस्था सिर्जना गर्न भरतपुर महानगर लागिरहेको छ ।’ उनले मंगलबार बहुप्राविधिक प्रशासनिक भवनको शिलान्यास गरिन् । जगतपुरको गाउँमै होटल म्यानेजमेन्टको पढाइ ल्याउन सकिएको भन्दै प्रमुख दाहालले भनिन्, ‘अब भरतपुरमा सबै प्राविधिक विषयको पढाइ गर्नुपर्ने अवस्था सिर्जना हुँदै गइरहेको छ ।’
भरतपुर–२५ मा रहेको प्रभात माविका प्रधानाध्यापक होमनाथ भण्डारीले गाउँमै सिभिल इन्जिनियरिङको पढाइ सञ्चालन हुँदा विद्यार्थी लाभान्वित भएको बताए । चितवनमा एमविविएसदेखि पिएचडीसम्मको पढाइ हुन्छ । चितवनमा स्नातक, स्नातकोत्तर र विद्यावारिधीसम्मको पढाइ हुन्छ । चितवनमा यस्ता कलेज ४५ वटा छन् । चितवनमा दुई मेडिकल कलेजमा एमबिबिएससम्मको पढाइ हुन्छ । करिब २ दर्जन विद्यालयले स्वास्थ्य क्षेत्रको पढाइ चलाइरहेका छन् । चितवनले २०५२ सालदेखि शिक्षामा फड्को मारेको हो । अहिले चितवन शैक्षिक हब बन्दै गइरहेको छ ।


