चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नेतृत्व अब कलमले गर्ने बताएका छन् । बन्दुक छोडेर अब कलमले क्रान्तिको नेतृत्व गर्ने अवस्था आएको उनले बताए ।
चितवनमा शनिबार प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले हिजोका दिनमा क्रान्तिका लागि प्रमुख बन्दुक भएपनि आजको समयमा कलम प्रमुख भएको बताए ।‘बन्दुक छोडेर कलमले क्रान्तिको नेतृत्व गर्ने अवस्था आएको छ । हिजो क्रान्तिमा बन्दुक प्रमुख हुन्थ्यो अहिले कलम प्रमुख भएको छ’ अध्यक्ष प्रचण्डले भने ।
प्रतिगमनका विरुद्ध लडका लागि होस् वा आर्थिक समृद्धिको यात्रामा प्रेस जगतको महत्वपुर्ण योगदान हुनुपर्ने बताउँदै उनले प्रेस जगतले व्यवस्था रक्षाका लागि गरेको योगदानको प्रशंसा गरेका छन् ।
गत बर्ष संविधान उल्टाउने प्रयास भएको र अहिले पनि प्रतिक्रियावादी चलखेल गरिरहेकाले प्रेस जगत सजग हुनुपर्ने उनले बताए ।
एमालेले चितवनमा गरेको महाधिवेशनलाई अध्यक्ष प्रचण्डले मण्डलेहरुको भेलाको संज्ञा दिदै भने, ‘एमालेले मण्डले मेला गर्यो । जहाँ मण्डले प्रविति देखियो । एमालेमा मण्डले करण पंचायती करणा र प्रतिगमनकारी पक्ष छ । हामी प्रतिगमनलाई रोक्न चाहान्छौ ।’
प्रेस सेन्टरको चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी, सदस्य सहित नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

