चितवन । आज शनिबारदेखि चितवनको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरबाट स्मार्ट लाइसेन्स नवीकरणको काम सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्मार्ट लाइसेन्स नवीकरण वितरण गर्दै कार्य आरम्भ भएको घोषणा गरेका थिए ।
यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले औपचारिक रुपमा शुभारम्भको दिन ८ जनाको स्मार्ट लाइसेन्स नवीकरण भएको बताए । उनले भने, ‘आज औपचारिक रुपमा कार्य शुभारम्भ गर्दा ४ जनालाई नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीबाट स्मार्ट लाइसेन्स वितरण भएको हो ।’ उनले स्मार्ट लाइसेन्स नवीकरणको काम अब चितवनबाटै हुने बताए । उनले भने, ‘हाललाई स्मार्ट लाइसेन्स नवीकरण गरेका छौँ, केही महिनापछि पेपर लाइसेन्स पनि नवीकरण गर्नेछौँ ।’
उनका अनुसार लाइसेन्स नवीकरणको लागि अनलाइन टोकन प्रणाली लागू गरिएको छ। ‘भिजिट टिएमओ वा चितवन यातायात डट बागमती डट जिओभी डट एनपी’ मा लगइन गरी आफ्नो विवरण भरेर टोकन लिन सकिने र सोही टोकनका आधारमा लाइसेन्स नवीकरणलगायतको सेवा लिन सकिन्छ ।
स्मार्ट लाइसेन्सको काममात्र होइन, यातायातका सम्पूर्ण काम भरतपुरबाटै हुने व्यवस्था मिलाउन कार्यलय प्रमुख पौडेलले अध्यक्ष प्रचण्डसँग अनुरोध गरेका थिए । अध्यक्ष प्रचण्डले चितवनवासीलाई ढुक्क हुन आग्रह गर्दै यातायातसँग सम्बन्धित सम्पूर्ण काम चितवन भरतपुरको सेवा कार्यालयबाट हुने व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।

शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सरकार यातायात महाशाखाका प्रमुख नवीनकुमार सिंह, यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीलगायतले मन्तव्य दिएका थिए । चितवनमा २०५१ सालमा पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालयको स्थापना भएको थियो । यस कार्यालयको विस्तार हुँदै स्मार्ट लाइसेन्स नवीकरण हुने अवस्थासम्म आएको छ । अब ट्रायलदेखि चितवनबाट लाइसेन्स पाउने गरी काम हुन बाँकी छ ।
विसं २०६२ मा सेवा विस्तार भएर वीरगञ्ज कार्यालयको शाखाको रुपमा स्थापित यस कार्यालयबाट बाटो इजाजत, नियमित जाँचपास, कर जरिवाना, अस्थायी रुट इजाजतसम्बन्धी काम थपियो । विसं २०७१ साउन ३० गतेबाट स्थायी कर्मचारीको दरबन्दीसहित कार्यालयको कामलाई चुस्तदुरुस्त बनाउने काम भयो ।
विसं २०७५ देखि सङ्घीयता लागू भएपछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेर यस कार्यालयलाई अघि बढाइयो । विसं २०७७ वैशाख ६ गते सवारी साधन दर्तासमेत विस्तार गर्ने निर्णयबमोजिम २०७८ साउन २८ गतेबाट सवारी साधन दर्ताको प्रक्रिया सुरु भयो । २०७८ मंसिर १८ गते लाइसेन्स नवीकरणको औपचारिक रुपमा कार्यआरम्भ भयो ।

