चितवन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन अन्यौलमा परेको छ । निर्वाचन अधिकृत कमलमोहन पोखरेलले उम्मेदवार मनोनयन गर्नुभन्दा एक दिन अघि राजीनामा दिएपछि चितवन कांग्रेसको अधिवेशन अन्यौलमा परेको हो ।
यदी निर्वाचन अधिकृत पोखरेलले राजीनामा नदिएको भए आज कांग्रेसका नेताहरुले उम्मेदवार मनोनयन दर्ता गरिरहेका हुन्थे । पोखरेलको राजीनामासँगै आज हुने भनिएको उम्मेदवार मनोनयन दर्ता पनि रोकिएको छ । नेपाली कांग्रेसका चितवन सभापति जितनारायण श्रेष्ठले निर्वाचन अधिकृत पोखरेलको राजीनामासँगै अधिवेशन नै अन्यौलमा परेको बताए ।
चितवन प्रेससँग कुराकानी गर्दै सभापति श्रेष्ठले भने, ‘निर्वाचन अधिकृतको राजीनामाले अधिवेशन स्थगित भएको छ, अर्को सूचना नआउँदासम्म अधिवेशन अगाडि बढ्दैन ।’ उनले केन्द्रबाट अर्को निर्वाचन अधिकृत खटिएपछि अधिवेशनको प्रक्रिया अघि बढ्ने बताए । सभापति श्रेष्ठले जिल्ला अधिवेशन हुन नदिने सिर्जना हुँदै गएको बताएका छन् । सभापति श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय निर्वाचन समितिलाई छिटोभन्दा छिटो चितवनको जिल्ला अधिवेशनको प्रक्रिया थालनी गर्न जोडदार माग गर्दछौँ ।’


