चितवन । नेकपा एमालेको केन्द्रीय कमिटीमा चितवनबाट ४० प्रतिशत महिला प्रतिनिधित्व रहने भएको छ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा चितवन जिल्ला १० नेता केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् । केन्द्रीय कमिटीमा निर्वाचित १० जनामध्ये ४ जना महिला छन् ।
भव्यरुपमा महाधिवेशनको संयोजन गरेको चितवनले यसअघिका केन्द्रीय कमिटीमा १० जना प्रतिनिधि कहिल्यै पाएको थिएन । पार्टीको केन्द्रीय समिति ३०१ रहँदै गर्दा चितवनका १० नेताले केन्द्रीय कमिटीको प्रतिनिधित्व गरेका यो पहिलो पटक हो । त्यसमा ४० प्रतिशत महिलाको सहभागिता रहेको छ ।
उपाध्यक्षमा सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बागमती प्रदेशतर्फबाट पार्वती रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । चितवनका नेता जेएन थपलिया, सीता पौडेल, काशीनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र प्रभा बराल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । दलित महिलातर्फ शिवकुमारी गोतामे केन्द्रीय समितिमा निर्वाचित भएकी छन् ।
चितवनकी चेली बालिका गिरी पनि केन्द्रीय सदस्य
चितवनकी चेली बालिका गिरी पनि नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । बालिका गिरी जगतपुरकी हुन् । उनले चितवनबाटै राजनीति सुरु गरेकी हुन् । एमाले चितवनले बालिका गिरी काठमाडौँबाट सिफारिस भएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी जनाएको छ ।

