चितवन । नेकपा एमालेको दशौं महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्वाचित भएका छन् । १९ जनाको पदाधिकारीमा चितवनका दुई नेता परेका छन् । रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डे उपाध्यक्षमा निर्वाचित भएका हुन् । यी दुबै नेता चितवनका हुन् ।
उपाध्यक्षमा निर्वाचितमध्ये सुरेन्द्र पाण्डे धेरै मत ल्याउनेमा दोस्रो भएका छन् । उनले १९२५ मत ल्याए । उपाध्यक्षमा सर्वाधिक मत ल्याउने अष्टलक्ष्मी शाक्य (१९७६) हुन् । उपाध्यक्षमा चितवनका नेता पूर्वमाओवादीबाट आएका रामबहादुर थापा बादलले १७६८ मत ल्याएका छन् ।
केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याउने चितवनका देवी ज्ञवाली भए । उनले १८७७ मत ल्याए । जुन मत केन्द्रीय सदस्यमा सर्वाधिक मत हो । चितवनका अर्का नेता नेता काशीनाथ अधिकारीले केन्द्रीय सदस्यमै १८०६ मत ल्याए । चितवनकै अर्का नेता जेएन थपलियाले सदस्यमै १६१६ मत ल्याए ।
थपलिया केन्द्रीय सदस्यमा नयाँ अनुहार हुन् । चितवनकै कपिल शर्मा पोखरेलले १५७७ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भए । यस्तै, चितवनकी जिल्ला अध्यक्ष पार्वती रावल, शिवकुमारी गोतामे र प्रभा बराल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

