चितवन। चितवनमा चालु आर्थिक बर्ष ०७८/०७९ मा गत आर्थिक बर्ष ०७७/०७८ को तुलनामा धान उत्पादनमा न्यून बृद्धि भएको छ । यस बर्ष उत्पादनमा अपेक्षित रुपमा उत्पादन बृद्धि हुने अनुमान गरिएपनि वेमौसमी बर्षाका कारण धान उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र, चितवनले जनाएको छ । ज्ञान केन्द्रका अनुसार चालु आर्थिक बर्षमा ८२ हजार ९५५ मेट्रिक टन धान उत्पादन भएको थियो भने गत आर्थिक बर्ष ०७७/०७८ मा चितवनमा ८२ हजार ५३७ मेट्रिक टन धान उत्पादन भएको थियो । आव ०७६, ०७७ मा ९४ हजार मेट्रिक धान उत्पादन भएको थियो ।
ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेले यस बर्ष बेमौसमी बर्षाका कारण दाना लागेको र पाकेकोे धानमा १२ प्रतिशत धान क्षति हुंँदा अपेक्षा अनुसार धान उत्पादनमा बृद्धि नभएको जानकारी दिए । ‘अहिले रोग किराको प्रकोप पनि कम थियो । उत्पादन र उत्पादकत्व पनि बढ्ने अपेक्षा थियो , प्रमुख पाण्डेले भने, तर बेमौसमी बर्षाले गर्दा कुल उत्पादनमा त्यति बृद्धि हुन सकेन । ’
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले गतबर्ष धानमा गवारो, फड्के, सिथ ब्लाईट लगायतका कारण १२ प्रतिशत उत्पादन घटेको र यसबर्ष पाकेको र काटेर सुकाईएको धानमा क्षति भएको कारण आशा गरेअनुसार उत्पादन हुन नसकेको बताए । ‘पोहोेर साल रोगले १२ प्रतिशत धान उत्पादनमा ह्रास आयो । अहिले बेमौसमी बर्षा र बाढीले १२ प्रतिशत धानमा क्षति भयो ।’ उनले भने ।
चितवनमा लगाईएको धानमा यस बर्ष बाढी र बर्षाले क्षति भएपनि कुल उत्पादनमा भने ह्रास नआएको सूचना अधिकारी पौडेलको भनाई छ । उनका अनुसार धानको कुल उत्पादन अपेक्षित बृद्धि नभएपनि उत्पादकत्वमा भने बृद्धि भएको छ । जसअनुसार धान जोनमा प्रतिहेक्टर उत्पादकत्व ४ दशमलब ५३ मेट्रिक टन रहेको छ भने, अन्य धानखेती योग्य जमीनको प्रतिहेक्टर ३ दशमलब ९ मेट्रिक टन उत्पादकत्व रहेको छ ।
चितवनमा धान जोन रत्ननगर नगरपालिका खैरहनी र राप्ती नगरपालिकाको पूर्व पश्चिम राजमार्ग देखि दक्षिण क्षेत्रमा पर्दछ । यहांँ ५ हजार ८२३ हेक्टर क्षेत्रफल धान जोन रहेको छ ।
चितवनमा २२ हजार हेक्टर हाराहारी बर्षे धान र ७ हजार पांँचसय हेक्टरमा चैते धान रोपाई गरिंँदै आएको छ । यहांँ सावित्री,सांँवा मन्सुली , बहुगुणी र हर्दिनाथ –१ हाइब्रीड जातको धानको बीउ रोपिदैं आएको छ । यी मध्ये सबै भन्दा बढी उत्पादकत्व हर्दिनाथ –१ को रहेको छ ।

