चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली कांग्रेस, अन्तर्गत केन्द्रीय सदस्यको लागि वर्तमान सभापति एवं महाधिवेशन प्रतिनिधि जीत नारायण श्रेष्ठले केन्द्रीय सदस्यको लागि उम्मेदवारी घोषणा गरेका छन । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा आफूले केन्द्रिय सदस्यको उम्मेदवार घोषणा गरेको जानकारी गराएका हुन् ।
घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले प्रजातान्त्रिक आन्दोलनमा चितवनले हरेक समय अगुवाई गर्दै आएपनि हालसम्म प्रत्यक्ष रुपमा केन्द्रीय सदस्यको पहुँच नभएकोले पनि आफूलाई जिताउन आग्रह गरे । आफ्नो उम्मेदवारी आदिवासी कोटाबाट केन्द्रिय सदस्यमा रहेको भन्दै उहाँले जिल्लाबाट उम्मेदवार रहेका सबै उम्मेदवारलाई सहयोग गर्न महाधिबेशन प्रतिनिधिहरुलाई आग्रह गरे ।
प्रखर बक्ता श्रेष्ठको उम्मेदवारी घोषणामा जिल्लाका तीन क्षेत्रका ७९ जना महाधिबेशन प्रतिनिधि मध्ये झण्डै ६० जनाको उपस्थिति रहेको उनले जानकारी दिए ।
नेपाली काँग्रेसका नेता स्व.बलबहादुर श्रेष्ठको साइलो छोराको रुपमा जन्मिएका जीतनारायण श्रेष्ठ नेपाली काँग्रेस,चितवनको राजनीतिमा एक उदयमान ताराको रुपमा चिर परिचित छन् । लामो समय शक्तिखोर गाउँविकास समितिको अध्यक्ष हुनु भएका बुबा स्व.बलबहादुर श्रेष्ठ र साविक शक्तिखोर गाविस नेपाल महिला संघका संस्थापक अध्यक्ष रहनु भएकी आमा तिल कुमारी श्रेष्ठका कारण उनको परिवार सम्पूर्ण रुपले नेपाली काँग्रेसको राजनितिमा समर्पित थियो।
२०४८ सालमा शत्तिखोरको चतुमुर्खी माविबाट इकाई समितिको सचिव, २०५० सालमा अध्यक्ष, २०५२ सालमा विरेन्द्र कयाम्पसको इकाई सदस्य, २०५३ मा चितवनको नेवि संघको जिल्ला सदस्य, २०५६मा दुईपटक जिल्ला सचिव, २०६१ मा जिल्ला अध्यक्ष, २०६६मा पार्टीको जिल्ला सदस्य, २०६९ जिल्ला सचिव र २०७२ मा जिल्ला सभापति भई आफ्नो जिम्मेवारीलाई पूरा गरेका श्रेष्ठ महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ्, पूर्ब सभापति कृष्णलाल सापकोटा, तोपमानसिंह गुरुङ्, प्रदेश सभा सदस्य बलराम पौडेल, जिल्ला सभापतिका आकांक्षिहरु कैलाश कोईराला, उत्तम जोशी, प्रा.डा. सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र बिजय भूषाल लगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

