चितवन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत चितवनमा आज क्षेत्रीय अधिवेशनको मतदान प्रक्रिया सकेर मतगणना सुरु भएको छ ।
निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको हो । चितवन क्षेत्र नं १ मा ९४२ मत खसेको छ । उनले क्षेत्र नं १ मा मतगणना सुरु भएको जनाए । क्षेत्र नं २ मा ९९४ मत खसेको छ ।
निर्वाचन अधिकृत पोख्रेलले क्षेत्र नं २ मा पनि मतगणना सुरु भएको बताए । क्षेत्र नं ३ मा ९८२ मत खसेको निर्वाचन अधिकृतले जनाएका छन् । ‘तीन वटा क्षेत्रमा मतगणना सुरु भएको छ, रातभरि मतगणना गर्नै लाग्छ’ निर्वाचन अधिकृत पोख्रेलले भने, ‘भोलि बिहानसम्म नतिजा आउला ।’
कोको छन् उम्मेदवार ?
क्षेत्र नं १ मा सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । सभापतिमा इन्द्रकमल बुढाथोकी र किरणभूषण ओली मैदानमा छन् । सचिवमा महेश्वर थपलिया, दिपकराज पौडेल, शिवनारायण चौधरी, ईश्वर खनाल, तथा उमेश गिरी र सहसचिवमा नवराज भुसाल, विष्णुहरि थापा, दीपनारायण चौधरी, गणेश थपलिया तथा माधव पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रको अधिवेशन रत्ननगरमा भएको हो ।
यस्तै क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा भरत लामिछाने र लक्ष्मण गुरुङको उम्मेदवारी दर्ता भएको छ । सचिवमा काशीराम गिरी, ध्रुवराज सुवेदी, निर्मलकुमार राना, प्रल्हाद उप्रेती र विकास पौडेल तथा सहसचिवमा इन्द्रबहादुर घलान, कुष्माकुमारी पन्त, विष्णुहरि खनिया, भवानीदेवी अधिकारी, महेन्द्र थापामगर, रामजी पौडेल र सिर्जना बसौला देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा ९६९ मतदाता रहेका छन् । यस क्षेत्रको मतदान उद्योग वाणिज्य सङ्घ नारायणगढमा भएको थियो ।
चितवन क्षेत्र नं ३ मा पाँच जनाले क्षेत्रीय सभापतिमा उम्मेदवारी मनोनयन गराएका छन् । सभापतिमा अमृतबहादुर बानिया, जगन्नाथ कँडेल, दामोदर न्यौपाने, देवेन्द्रप्रकाश क्षेत्री र लालबहादुर दवाडी उम्मेदवार छन् । यस्तै सचिवमा तुलाराम गुरुङ, दीपक कुँवर, नवीन न्यौपाने, बृज महतो (झलक), लिलकुमार महतो, सरस्वती पाण्डे (सिर्जना) र क्षेत्रप्रसाद सापकोटा तथा सहसचिवमा इन्दिरा भुसाल कँडेल, गणेशप्रसाद कँडेल, लक्ष्मीप्रसाद सापकोटा, र सिर्जना अधिकारी लामिछानेले उम्मेदवार छन् । यस निर्वाचन क्षेत्रको शहिद स्मारक कलेज शारदानगरमा मतदान भएको थियो ।
निर्वाचनले २५ महाधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ । कांग्रेसको महाधिवेशनअन्तर्गत यही मङ्सिर १० गते जिल्ला अधिवेशन हुँदैछ ।

