चितवन । अर्थमन्त्री जनार्दन शर्माले चितवनमा जग्गा पाए शिक्षक अस्पताल यहीँ बनाउने बताएका छन् । भरतपुर महानगरपालिकाले सोमबार आयोजना गरेको ‘समृद्ध भरतपुरको लागि विकास बहस’ कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘शिक्षक अस्पताल बनाउन खोजिरहेका छौँ, जग्गा पाए सरकारले चितवनमै शिक्षक अस्पताल बनाउँछ ।
हरेक दृष्टिकोणबाट चितवनमा शिक्षक अस्पताल बनाउन उपयुक्त छ ।’ उनले शिक्षक अस्पताल बनाउन तत्काल जग्गा चाहिएको बताए । यसअघि नै शिक्षक अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न समिति गठन गरिएको छ । सो समितिले चितवन, काठमाडौँलगायतका मुख्य शहरमा जग्गा खोजी गरिरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार जग्गा व्यवस्थापनका लागि डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । जग्गा खोज्न दुई महिनाको समय दिइएको छ । मन्त्रालयले उपयुक्त जग्गा व्यवस्थापन हुनेबित्तिकै काम सुरु हुने बताएको छ ।
समितिले उपयुक्त जग्गा पाएपछि त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेट विनियोजन गरेका थिए ।

