चितवन । अर्थमन्त्री जनार्दन शर्माले हिजोदेखि आजसम्मको राष्ट्रिय राजनीति प्रचण्डकै दृष्टिकोणमा चलेको बताएका छन । आज भरतपुरमा भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा बोल्दै उनले समाजवादको विकास प्रचण्डलेनै गर्ने दाबी गरे । ‘गाली गर्दापनि आलोचना गर्दा पनि आखिर राष्ट्रिय राजनीति प्रचण्डकै दृष्टिकोणमा चलिरहेको छ ’ शर्माले भने । नेतृत्व निर्माणको थलो चितवन भएको भन्दै उनले प्रचण्ड जस्तो नेतृत्व जन्माउनमा चितवनको महत्वपूर्ण योगदान भएको चर्चा गरे ।
भरतपुर महानगरको विकासले आफूलाई प्रेरित भएको भन्दै देशका अन्य महानगरपालिकाले भरतपुर महानगरबाट केही सिक्नु पर्ने बताए । ‘भरतपुर महानगरबाट अन्य नगरपालिकालाई ईर्ष्या गर्ने लायक भरतपुर बनेको छ ।’ उनले भने । आफू बोलेर भन्दा काम गरेर देखाउने मन्त्री भएको भन्दै भरतपुरका निर्माणधीन गौरवका आयोजनालाई तीब्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
‘रंगशाला शान, प्रतिष्ठाको बिषय बनेको छ , यसलाई पूर्णता दिन छलफल भईरहेको छ , उनले भने, भरतपुर विकास हुंँदा मेची देखि महाकालीलाई विकास गर्न प्रेरित गर्छ ।’ भरतपुर विमानस्थल विस्तार, नारायणी तटबन्द लगायतका अन्य आयोजनालाई पूर्णता दिने विश्वास उनले दिलाए ।

