चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८/ ०७९ को चार महिनामा सवारी दुर्घटनाबाट ४८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार साउन महिनामा ११ जना, भदौमा ७ जना , असोजमा २० जना र कात्तिक महिनामा १० जनाको मृत्यु भएको हो । सो अवधिमा ३०९ जना सवारी दुर्घटनाबाट घाईते भएका थिए । जसअनुसार साउन महिनामा ७५ जना , भदौमा ७३ जना , असोजमा ६९ जना र कात्तिक महिनामा ९२ जना घाईते भएका छन् ।
सबैभन्दा बढी मृत्यु भित्री सडकमा कम शहरी सडकमा
कार्यालयले दिएको तथ्यांक अनुसार सवारी दुर्घटनाबाट सबैभनदा बढी मृत्यु भित्री सडकमा भएको पाईएको छ । जसअनुसार चार महिनाको अवधिमा भित्री सडकमा २१ जनाको मृत्यु र १२७ जना घाईते भएका छन् भने सो अवधिमा सहरी सडकमा एकजनाको मृत्यु र २३ जना घाईते भएका छन् ।
यस्तै दोस्रो सबैभन्दा बढी सवारी दुर्घटना पूर्व पश्चिम राजमार्गमा भएको छ । चार महिनामा उक्त राजमार्गमा १५ जनाको मृत्यु भएको छ भने ७५ जना घाईते भएका छन् । यस्तै नारायणगढ मुग्लिन सडकखण्डमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३४ जना घाईते र पृथ्वीराजमार्गमा सो अवधिमा ४ जनाको मृत्यु र ११ जनाको घाईते भएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले पछिल्लो समय नारायणगढ मुग्लिनसडक खण्ड र शहरी सडकखण्डभन्दा भित्री सडक र लोकमार्गमा सवारी दुर्घटनाबाट मानवीय क्षति हुने गरेको बताए । उनका अनुसार भित्री सडकमा ट्राफिक प्रहरीको कम पहुँच, चालकको लापरवाही र सडकको संरचनाले गर्दा बढी दुर्घटना हुने र मृत्यु र घाइतेको संख्या पनि सोही अनुपातमा बढेको हो । ‘पहिला नारायणगढ सडकखण्ड र शहरी क्षेत्रमा बढी सवारी दुर्घटना हुने गथ्र्यो उनले भने, पछिल्लो समय भित्रि सडक र लोकमार्गमा बढी दुर्घटना भएको पाएका छौं ।’ चालकको लापरवाही , यान्त्रिक गढबढी, तीब्र गति, मापसे गरेर सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने भएका कारणपनि यस्ता सडकमा सवारी दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति हुने गरेको उनको भनाई छ ।
राजमार्ग र भित्री सडकमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले दुर्घटना थप प्राथमिकता दिई सवारी चेकजांँचमा कडाई गर्दै लगिएको थापाले जानकारी दिए । कार्यालयका अनुसार चालु आवको साउन देखि कात्तिक महिनासम्म १७७ वटा सवारी दुर्घटना भएका थिए ।


