चितवन । आन्तरिक राजश्व कार्यालय, भरतपुरले चालु आर्थिक बर्ष ०७७, ०७८को कात्तिक महिनामा सबै शिर्षक गरी १ अर्ब ६६ करोड ९६ लाख ८८ हजार राजश्व असुली गरेको छ । विभागले यो महिनामा १ अर्ब ३६ करोड ९१ लाख ३ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा २४ दशमलब ७० प्रतिशत राजश्व संकलन गर्न सफल भएको हो ।
कार्यालयले दिएको तथ्यांक अनुसार सबै भन्दा बढी अन्तशुल्क शिर्षकमा राजश्व असुली गरेको छ भने अन्य दुई शिर्षक शिक्षा सेवा कर र स्वास्थ्य सेवा करमा रकम कुनै रकम असुली गरेको छैन । कार्यालयका कर अधिकृत शुशील लम्सालले विदेश जाने विद्यार्थीबाट मुद्रा सटही मार्फत कर असुली नभएको र स्वास्थ्य सेवामा कर छुट भएकोले कर असुली शुन्य भएको जानकारी दिए । कात्तिक महिनामा विभागले शिक्षा सेवा करमा ४ लाख ५४ हजार र स्वास्थ्य सेवा करमा २ लाख ३६ हजार रुपैंया राजश्व असुलीको लक्ष्य दिएको थियो ।
सबै भन्दा बढी कर असुली अन्तशुल्कबाट
कार्यालयको सबैभन्दा बढी आम्दानी अन्तशुल्क कर शिर्षकबाट हुदै आएको छ । जसअनुसार कात्तिक महिनामा यो शिर्षकबाट १ अर्ब ३३ करोड ९१ लाख २० हजार रुपैयांँ संकलन गरेको छ ।
यो शिर्षकमा उक्त महिनामा विभागले १ अर्ब ६ करोड ५३ लाख ८६ हजार रुपैंया लक्ष्य दिएको थियो । यस्तै आयकर शिर्षकबाट लक्ष्यभन्दा दोब्बर राजश्व असुली भएको छ । उक्त महिनामा ६ करोड ५१ लाख ४९ हजार लक्ष्य दिईएकोमा १६ करोड १६ लाख रुपैया असुली गर्न सफल भएको हो । तर अन्य शिर्षकमा भने कार्यालयले लक्ष्य भेटाउन सकेको छैन । जसअनुसार बहाल करमा २७ लाख ९६ हजार लक्ष्य दिइएकोमा १९ लाख ६३ हजार, व्याजकरमा ४ करोड ९१ लाख ५७ हजार लक्ष्य दिईएकोमा १ करोड ४४ लाख १४ हजार रुपैंया र मुल्य अभिवृद्धि करमा १८ करोड ५९ लाख २५ हजार लक्ष्य दिइएकोमा १५ करोड २५ लाख ९१ हजार रुपैंया असुली भएका्े छ ।
कर अधिकृत लम्सालले चितवनको राजश्व संकलनको श्रोत मदिरा तथा सूर्तीजन्य पदार्थ रहेकोले अन्तशुल्कबाट सबैभन्दा बढी राजश्व संकलन हुने गरेको बताए । ‘उक्त महिनामा चाडबाड र समयपनि अनुकुल भयो, मदिराजन्य पदार्थको उत्पादन र विक्री वितरण पनि बढी भयो ।’ उनले भने ।
उनका अनुसार बिशेषगरी आयकर शिर्षकमा पुष, चैत्र र असारमा बढी कर संकलन हुने र अन्तशल्क लगायत अन्य शिर्षकका करको हकमा ज्येष्ठ, असार र साउन तुलनात्मक रुपमा बढी हुनाले कर संकलनमा उत्तारचढाव आउनेछ । विभागले यसबर्षमा कुल २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाको लक्ष्य दिएको छ । चालु आर्थिक बर्षको ४ महिना सम्म कार्यालयलाई ५ अर्ब २० करोड ९७ लाख १३ हजार लक्ष्य दिएकोमा कात्तिक सम्म ६ अर्ब ४९ करोड ६५ लाख २५ हजार रुपैंया राजश्व असुली गरेको हो ।


