चितवन। पवित्र तीर्थस्थल देवघाट र गण्डकीसङ्गमको पूर्ण परिक्रमा गर्ने उद्देश्यले आयोजित “देवघाटधाम गण्डकी परिक्रमा महोत्सव २०७८” सम्पन्न भएको छ ।
देवघाटधामको धार्मिक एवम् पर्यटकीय क्षेत्रको समृद्धिका निम्ति सञ्चालित परिक्रमा महोत्सवमा यस क्षेत्रका धार्मिक संघ-संस्थाको प्रत्यक्ष सहभागिता रहेको थियो । देवघाट क्षेत्र विकास समितिको व्यवस्थापन र समन्वयमा सञ्चालन भएको महोत्सवले देवघाटमा नयाँ सम्भाव्यताको ढोका खोलेको आयोजकको विश्वास छ । महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिको विशेष उत्प्रेरणा र अन्य सन्तहरूको सहभागितामा महोत्सव सञ्चालन भएको हो । तनहुँ, चितवन र नवलपुरमा पर्ने देवघाट क्षेत्रको २५ कि.मि. धार्मिक मार्गमा पैदल यात्रामार्फत गरिएको परिक्रमामा हजारौँ तीर्थयात्रीहरूको उपस्थिति रहेको थियो ।
आज (बुधबार)का दिन बिहान ०७ बजे पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गममा शालग्राम शिला र गण्डकीको पूजा सङ्कल्प गरी गलेश्वर आश्रम पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिको आशीर्वचनसहित शुभारम्भ भएको परिक्रमा दिउँसो ३ बजेसम्म चलेको थियो ।
परिक्रमा ऐतिहासिक मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा यात्रा अनुगमन समितिका संयोजक देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले करिब ४ हजार भन्दा बढीको उपस्थिति रहेको जानकारी दिए।
परिक्रमाको परिकल्पनासहित पूर्ण यात्राको नेतृत्व स्वामी रमणानन्द गिरिको विशेष आशीर्वादपछि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको धन्यवाद ज्ञापन गरेका थिए।





