चितवन । चितवनमा बाम बुद्धिजीवीको छवी बनाएका थिए प्रेम रिमालले । वाककलामार्फत विपक्षीलाई भित्तैसम्म ठेल्न सिपालु रिमालले नेकपा माओवादी केन्द्रमा आबद्ध थिए । चुनावी सभामा होस् या जनआन्दोलन २०६२-६३ को आन्दोलनमा होस् मानिसहरुलाई प्रेम रिमालको भाषण अनिवार्य चाहिन्थ्यो । विरोध सभाहरुमा प्रेम रिमाल नबोले मानिसहरुलाई सभा नै खल्लो लाग्थ्यो ।
२०४७ सालमा नेकपा चौमको पार्टी सदस्य लिएर राजनीतिमा लागेका रिमालले चितवनलाई मुख्य केन्द्रबिन्दु बनाएर सक्रिय राजनीति गरेका थिए । सबैलाई चकित पार्दै शनिबार माओवादी केन्द्र त्यागेको घोषणा गरे रिमालले सामाजिक सञ्जालमार्फत । सबैलाई उनले पार्टी त्यागेको घोषणाले सरप्रराइज बनाएको छ ।
‘कहिले नेकपा चौम, कहिले नेकपा एकता केन्द्र, कहिले एकता केन्द्र मसाल, कहिले नेकपा एकीकृत माओवादी त कहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै फेरि नेकपा माओवादी केन्द्रको सदस्य बनेको म आजबाट भने प्रेम रिमाल मात्र बनेको छु’ उनको फेसबुक स्टाटस लेखिएको शव्द हुन् उनी । उनी आफू स्वतन्त्र प्रेम रिमालमात्रै बनेको बताइरहँदा धेरैलाई लागिरहेको छ उनी प्रेम रिमालमात्र भएर बस्न सक्छन् त ? यही प्रश्न चितवन प्रेसले उनलाई गरेको थियो । जवाफमा रिमालले भने, ‘माओवादी केन्द्रमा त म सन्तुष्ट हुन सकिनँ भने अब एमालेमा जाने, राप्रपामा जाने र नेपाली कांग्रेसमा जाने हुँदैन । यो कल्पनाभन्दा टाढाको विषय हो । अब म जीवनभर स्वतन्त्र नागरिक भएर नै रहनेछु ।’
शिक्षा क्षेत्रमा पनि आफ्नो उच्च छवी बनाएका रिमाल हाल डेजी आवासीय मावि पर्साका प्रिन्सिपल पनि हुन् । माओवादी केन्द्र परित्याग गरे पनि धेरैलाई लागेको छ, उनी राजनीतिबाट टाढा हुन सक्दैनन् । उनले भने, ‘कसलाई के लाग्छ भन्ने कुरा उनीहरुको हो । म स्वतन्त्र भएर जीवनलाई अगाडि बढाउँछु ।’ नेपाल कम्युनिष्ट पार्टीका श्रद्धेय संस्थापक नरबहादुर कर्माचार्यका हातबाट निर्मल लामाको उपस्थितिमा नारायणगढको शहिदचोकबाट उनले कम्युनिष्ट पार्टीको सदस्य लिएका हुन् । यो कुरा उनको आफ्नो फेसबुक स्टाटसमा पनि उल्लेख गरेका छन् ।
कहिले नेकपा चौम, कहिले नेकपा एकता केन्द्र, कहिले एकता केन्द्र मसाल, कहिले नेकपा एकीकृत माओवादी त कहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै फेरि नेकपा माओवादी केन्द्रको सदस्य बनेको रिमालले किन पार्टी परित्याग गरे त ? उनले आफ्नो फेसबुक स्टाटसमा एउटै मुख्य कारण देखाएका छन् ।
‘दार्शनिक, राजनैतिक र सांस्कृतिक रूपमा एउटा कम्युनिष्ट पार्टी जस्तो हुनुपर्छ भन्ने बुझेको थिएँ त्यसका सामान्य प्रवृत्तिहरू पनि पार्टीमा रहेको अनुभव गर्न नसकेका कारण कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको कुरा सबैलाई जानकारी गराउँछु ।’ यही कारण स्टाटस लेखेर रिमालले माओवादी केन्द्र त्यागेको घोषणा गरे । उनले भने, ‘मैले माओवादी केन्द्रमा नेतृत्व तह र कार्यकर्ताबीच तालमेल देखिनँ । हिजो एमालेसँग मिलेछ, आज काँग्रेससँग मिलेछ, पार्टी एकैदिन क्रान्तिकारी हुन त सक्दैन होला नि ।’
रिमालले आफूलाई राजनीतिमा ल्याउने, देश र जनताको पक्षमा लाग्न सिकाउने सबैप्रति आभार प्रकट गरेका छन् । रिमालले आफ्ना अग्रजकोहरुको नाम लिँदा पुष्पकमल दाहाल प्रचण्डको समेत नाम लिएका छन् । उनले भनेका छन्, ‘मलाई देश र जनताको पक्षमा जतिसुकै कष्ट झेल्न परे पनि तयार हुनुपर्छ भन्ने कुरा सिकाउने मेरा अग्रजहरू पुष्पकमल दाहाल, प्रेम सुवेदी, भैरब रेग्मी, विष्णु कुँवर, भेषराज गौली, नवीन आचार्यप्रति उच्च आदर आज पनि छ ।’
अब चितवनमा हुने सबैखालको न्यायपूर्ण आन्दोलनमा जनताले प्रेम रिमाल पाउँछन् । समाजमा न्याय नगर्ने पक्षलाई भित्तासम्म वाककलामार्फत ठेल्न सक्ने रिमाल अब चितवनमा हुने न्यायपूर्ण आन्दोलनमा भेटिन्छन् त ? धेरैलाई यो प्रश्नले सताएको छ । रिमाल भन्छन्, ‘नेपाल र नेपाली जनताको पक्षमा उठ्ने आवाजमा मेरो आवाज सदा मिसिने नै छ । सबैखाले न्यायपूर्ण आन्दोलनमा म सदाझैँ लागिरहने प्रतिज्ञा गर्दछु ।’

