चितवन । चितवनका नेकपा माओवादी केन्द्रका नेता एंवम् बुद्धिजिवि प्रेम रिमालले पार्टी परित्याग गरेका छन् । उनले आफनो फेसबुकमा लामो स्टाटसमा लेख्दै उक्त्त कुराको जानकारी गराएका हुन् ।
उनले स्टाटसमा लेखेका छन्, ‘कहिले नेकपा चौम, कहिले नेकपा एकता केन्द्र, कहिले एकता केन्द्र मसाल, कहिले नेकपा एकीकृत माओवादी त कहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै फेरि नेकपा माओवादी केन्द्रको सदस्य बनेको म आजबाट भने प्रेम रिमाल मात्र बनेको छु ।’
प्रेम रिमालको फेसबुक स्टाटस उनकै फेसबुक वालबाट जस्ताको त्यस्तै ः
नेपाल कम्युनिष्ट पार्टीका श्रद्धेय संस्थापक कमरेड नरबहादुर कर्माचार्यका हातबाट ( कमरेड निर्मल लामाको उपस्थितिमा ) नारायणगढको सहिद चोकमा रहेको आदरणीय दाइ मित्रराज दवाडीको मित्र एग्रो कन्सर्नको हो क्यारे पछाडिको कोठामा कम्युनिष्ट पार्टीको सदस्यता लिएको हुँ मैले । कहिले नेकपा चौम, कहिले नेकपा एकता केन्द्र, कहिले एकता केन्द्र मसाल, कहिले नेकपा एकीकृत माओवादी त कहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै फेरि नेकपा माओवादी केन्द्रको सदस्य बनेको म आजबाट भने प्रेम रिमाल मात्र बनेको छु ।
मलाई देश र जनताको पक्षमा जतिसुकै कष्ट झेल्न परे पनि तयार हुनुपर्छ भन्ने कुरा सिकाउने मेरा अग्रजहरू पुष्पकमल दाहाल, प्रेम सुवेदी, भैरब रेग्मी, विष्णु कुँवर, भेषराज गौली, नवीन आचार्यप्रति उच्च आदर आज पनि छ ।
प्रेम सुवेदी र भेषराज गौली दाइको मृत्यु भैसक्यो । अरू जिवित हुनुहुन्छ ।
मैले दार्शनिक, राजनैतिक र सांस्कृतिक रूपमा एउटा कम्युनिष्ट पार्टी जस्तो हुनुपर्छ भन्ने बुझेको थिएँ त्यसका सामान्य प्रवृत्तिहरू पनि पार्टीमा रहेको अनुभव गर्न नसकेका कारण कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको कुरा सबैको जानकारीका लागि अनुरोध छ ।
नेपाल र नेपाली जनताको पक्षमा उठ्ने आवाजमा मेरो आवाज सदा मिसिने नै छ । सबैखाले न्यायपूर्ण आन्दोलनमा म सदाझैँ लागिरहने प्रतिज्ञा गर्दछु ।
मलाई ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने चेतना जगाइदिने सबैप्रति मेरो विशेष आदर रहिरहने छ ।


