चितवन । चितवनमा राजनीतिक गतिविधि बढ्दै गएको छ । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ता आउने जानेक्रम बढ्दै गइरहेको छ । नेपाली कांँग्रेसको जिल्ला अधिवेशन, नेपाल कम्युनिष्ट पार्टीको (माले) को राष्ट्रिय महाधिवेशन र मंसिर १० गतेबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको महाधिवेशन चितवनमा नै हुन लागेकोले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
कोरोना कहरले शिथिल बनाएको पर्यटन व्यवसायलाई राजनीतिक चहलपहलले उकास्ने देखिएपछि उनीहरु उत्साहित भएका हुन् । हाल चितवनका सौराहा, नारायणगढका होटलहरुमा पाहुनाहरुको बाक्लो उपस्थिति देखिदै आएको छ । कतिपय होटलहरुमा महाधिवेशन लक्षित कोठाहरु बुकिङ, सोधपुछ हुने गरेको व्यवसायीहरु बताउंँछन् ।
क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे राजनीतिक गतिविधि बढेसंँगै सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको बताउंँछन । ‘अहिले हरेक दल चितवन केन्द्रित भएका छन्’ उनले भने, ‘एमालेको महाधिवेशनले हामी थप उत्साहित भएका छौँ ।’ महाधिवेशन तयारीसंँगै चितवनमा पार्टीका शीर्षस्थ नेता तथा कार्यकर्ताहरुको सहभागिता दिनहुंँ बढ्दै गएको उनले बताए । ‘कोरोना कहरपछि हाम्रो लागि यो ठूलो अवसर हो, हामी महाधिवेशनमा आउने पाहुनलाई कसरी व्यवस्थित र सेवा दिन सक्छौँ भन्ने विषयमा छलफलमा छौं ।’
चितवनमा हुने यस्ता गतिविधिले समग्र चितवन र नेपालको लागि प्रचारप्रसार सकारात्मक सन्देश जाने उनको भनाइ छ । क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष दीपक भट्टराई जिल्लामा विभिन्न दलका अधिवेशन, महाधिवेशनले गर्दा पर्यटन क्षेत्र चलायमान हुंँदै गएको बताउंँछन ।’ चितवनको पर्यटनको लागि अवसर र चुनौती दुबैछ’ उनले भने, ‘एक त हामीले देशभर निःशुल्क रुपमा पर्यटन प्रर्वद्धन गर्न पाउने छौँ, अर्कोकुरा हामीले अतिथिहरुलाई दिने सेवामा कत्ति सन्तुष्ट पार्छौं भन्ने हो ।’
पर्यटन क्षेत्रमात्र होइन, यहांँको कृषि उत्पादन, यातायात, हवाई उडानदेखि सानासाना खाजा तथा चिया पसलमा पनि चहलपहल बढ्ने भट्टराईको भनाइ छ । हाल महाधिवेशनमा आउने पाहुनालाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय, अन्य पर्यटनसम्बन्धी संस्था र स्थानीयसंँग छलफल भइरहेको उनले बताए । ‘झण्डै १० वर्षपछि चितवनको पर्यटनको लागि ऐतिहासिक अवसर जुटेको छ । यसले हामीलाई उर्जाशील र उत्साहित बनाएको छ’ भट्टराईले भने । उनका अनुसार ती अतिथिहरुलाई लक्षित गरी छुटका प्याकेज, स्वागत, सजावटका काम सुरु गर्न लागिएको छ ।
सौराहामा महाधिवेशन मतदान पक्रिया र बन्द सत्र भए पनि नारायणगढका साना तथा होटलहरु पनि सबै प्याक हुने भएका छन् । नारायणगढको नारायणी किनारमा महाधिवेशनको उद्घाटन हुने एमालेको पूर्व निर्धारित कार्यक्रम रहेको छ । जसका कारण सौराहामा मात्र नभई चितवनका अन्य पर्यटकीय क्षेत्र पटिहानी, मेघौलीलगायतका क्षेत्रहरु पनि चलायमान हुने व्यवसायीको आशा छ ।
होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष निर्देशक दिनेशकुमार चुके कोरोनाले धराशायी भएको पर्यटन व्यवसायले यस्ता राजनीतिक चहलपहलले ठूलो राहत मिल्ने बताउंँछन । ‘अहिलेदेखि नै मेरो टांँडीको गंगोत्री हाइवे होटलको बुकिङ भइसकेको छ’ उनले भने, ‘नारायणगढको होटलमा पनि नेता तथा कार्यकर्ता आउने जाने क्रम बढिरहेको छ ।’ जिल्लामा एकैपटक यति ठूलो संख्यामा देशभरबाट अतिथि पाहुना आउने भएकोले उनीहरुलाई पर्यटकीय प्याकेज बनाएर लैजानुपर्ने उनको तर्क छ । ‘चितवनमा ४० वटा पर्यटकीय गन्तव्य छन् । यसको प्रर्वद्धन गर्न र चितवन चिनाउन पनि प्याकेज कार्यक्रम अपरिहार्य छ’ उनले भने ।
यसका लागि हरेक क्षेत्रका पर्यटन व्यवसायी, स्थानीय सरकारसंँगको सहकार्य र समन्वय हुनुपर्ने चुकेले बताए । चितवनमा आगामी १० गतेदेखि नेकपा एमालेको महाधिवेशन शुरु भएदेखि व्यवस्थापनको लागि अलग्गै समिति उपसमिति बनाएर आ आफ्नो जिम्मेवारी अनुसार काम शुरु गरिएको छ । यसका लागि शीर्षस्थ नेताहरुसंँग छलफल, व्यवस्थापनबारे छलफल भइरहेको छ ।
देशका सातै प्रदेशका नेता, कार्यकर्ता, प्रतिनिधि पालिका प्रमुख र अन्य देश विदेशबाट आउने अतिथि हरुलाई व्यवस्थापन गर्न नेकपा एमाले १० औं महाधिवेशन व्यवस्थापनका समिति पनि जुटिरहेको छ । महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक एवं चितवन क्षेत्र नम्बर १ का सांँसद सुरेन्द्र पाण्डे महाधिवेशनको तयारी र व्यवस्थापनका लागि जुटिरहेको बताउंँछन् । ‘अहिले खाने बस्ने व्यवस्थापनको लागि होटल व्यवसायीहरुसंँग छलफल भइरहेको छ’ उनले भने, ‘हामीले प्रत्येक प्रदेशबाट आउने अतिथिहरुलाई सोही प्रदेशका नेतृत्वकर्तालाई जिम्मेवारी सुम्पेका छौँ ।’

