तनहुँ। तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन् । दोस्रो लहरमा फैलिएको कोरोना संक्रमण घट्दै गएपछि कात्तिक चौथो साता जिल्लाका पाँच स्थानीय तह कोरोना मुक्त भएका हुन् ।
जिल्लाको ऋषिङ गाउँपालिका, घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार यी स्थानीय तहमा कोरोनाको परीक्षण पनि न्यून छ ।
जिल्लामा मंगलबार एक जनालाई मात्र कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ११ जनाको कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षण कम हुँदा संक्रमणदर घटेको अधिकारी बताउँछन् । उनी भन्छन्, ‘कोरोना परीक्षण बढाउने हो भने संक्रमण पनि बढ्ने देखिन्छ ।’ दैनिक १० जना भन्दा कम संक्रमित थपिरहेको उनले जनाए ।
जिल्लामा हाल ३८ जना कोरोनाका सक्रिय संक्रमित छन् । धेरै व्यास नगरपालिकामा १६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिकामा १४ जना सक्रिय संक्रमित हुँदा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकामा तीन/तीन जना र भानु नगरपालिकामा दुई जना सक्रिय संक्रमित छन् ।
दोस्रो लहर सुरु भएपछि जिल्लामा पाँच हजार तीन सय ६६ जनालाई संक्रमण पुष्टि भएको छ । तीमध्ये पाँच हजार दुई सय चार जना निको भएका छन् । १ सय २४ कोरोना संक्रमितको दोस्रो लहरमा निधन भएको स्वास्थ्य कार्यालयसँग तथ्याङ्क छ ।
गण्डकी प्रदेशभर मंगलबार ३२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २५० जनाको कोरोना परीक्षण गरिएको थियो । धेरै संक्रमित कास्कीमा १७ जना थपिएका हुन् । म्याग्दी, मुस्ताङ र मनाङमा मंगलबार संक्रमित थपिएनन् । ८७ जनाले कोरोनालाई जितेका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
हालसम्म गण्डकी प्रदेशमा ८७ हजार ५ सय ३४ जनालाई कोरोना पुष्टि भएको छ । तीन लाख ४७ हजार ६ सय ६८ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीसँग तथ्याङ्क छ । प्रदेशभर सक्रिय संक्रमित ४२६ जना छन् । होम आइसोलेसनमा ३९१ जना बसेका छन् । कोरोनाले गण्डकीका एक हजार तीन सय ९८ जनाको ज्यान लिएको छ ।

