काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन आग्रह गरेकी छन् । साथै उनले राजनीतिलाई हावादारी र मजाकको विषय बनाउन छाड्न पनि भनेकी छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमा ‘कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको’ भनेर भट्टराईलाई प्रश्न गरेका थिए ।त्यसको जवाफमा जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्यसमेत रहेकी मानुषीले ओलीलाई तथ्यसहित अभिव्यक्ति दिन आग्रह गरेकी हुन् ।
मानुषीले फेसबुकमा भनेकी छन्, “पूर्वप्रधानमन्त्री ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला । स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा (हिसिला यमी) ले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किएका थियौँ ।”
उनले अगाडि भनेकी छन्, “हामी कुन आम्दानीको स्रोतबाट गएका थियौँ । त्यहाँ कस्तो अवस्थाबाट गुज्रियौँ भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा ‘हिसिला को पेज नम्बर ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला । राजनीतिलाई कतिञ्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?”

