चितवन ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवन आएका छन् ।
चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि आज घिसिङ चितवन आईपुगेका हुन । मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ ।
तिहारमा नै उपभोक्ताले लामो समय बिजुली नपाउने अवस्था बनेपछि काम छिटो गर्न प्राविधिकलाई हौसला होस् र परेका समस्याहरु फुकाउन सहज होस् भनेर उनि चितवन आएको घिसिङको सचिवालयका एक कर्मचारीले बताए ।
उनले समस्याबारे जानकारी लिएर सकेसम्म छिटो विद्युत आपूर्तिको व्यवस्था गर्न छलफल र पहल गर्ने प्राधिकरणले बताएको छ ।
घिसिङ आएलगतै समस्या समाधानका लागि सबस्टेसनमै पुगेर छलफल थालेका छन् । तिहारको समय भएकाले विद्युत आपूर्ति घण्टौं रोकिने अवस्था आउनु दुःखद् भएपनि समाधानको लागि विज्ञ प्राविधिक टोलीले काम थालेकाले छिट्टै आपूर्ति सुरु हुने प्राधिकरणले बताएको छ।
भरतपुर महानगरपालिकास्थित १३२र११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।

