चितवन। चितवनमा तिहार पर्वको अवसरमा चहलपहल ह्वात्तै बढेको छ । तिहार पर्वको अवसरमा आवश्यक पर्ने सामग्री किनमेल गर्ने देखि दैनिक उपभोग्य बस्तुहरु चितवनका मूख्य बजार क्षेत्रमा ,फुटपातमा उपलब्ध भएसंगै किनमेल गर्नेहरुको भिडभाड ह्वात्तै बढेको हो । बजारमा भाइटिका मसला देखि, तिहार पर्वमा आवश्यक पर्ने फुल, झिलिमिलि बत्ती, विभिन्न प्रकारको फलफुल, मिठामिठा खानेकुरा, ढाका टोपी लगायतका सामाग्रिहरु किन्नेहरुको भिडभाड देखिन्छ । नारायणगढ क्षेत्रमा दशैं पर्वमा भन्दा तिहार पर्वको अवसरमा अझ बढी चहलपल हुने गरेको छ ।
नारायणगढको सडक (फुटफातमा) पसल थापेकी सरस्वती खड्काले पोहोरको तुलनमा यस वर्ष भाईमसला र अन्य सामाग्रिको व्यापार बढेको बताईन् । पोहोर कोरोनाको त्रास बढिभएकाले बजारमा चहलपहल कम भएको कारण ब्यापार कम भएको थियो तर यो वर्ष पोहोरको तुलनामा ब्यापार बढेको छ ’ उनले भनिन् । पोहोरको तुलनामा अहिलेको तिहारमा व्यापारमा वृद्दि भएको उनको विश्वास छ ।
यस्तै नारायणगढका अर्का ब्यापारी रामभक्त शर्माले तिहार आउन केही दिन बाँकी रहेको र यो वर्षको तिहारमा ब्यापारमा केही सुधार भएको बताए ।
तिहारको अवसर पारेर नारायणगढको सडक फुटफाथमा पसल थापेर बसेका उनले यो वर्ष अघिल्लो वर्षको तुलनामा ब्यापारमा बढेको बताए । यो वर्ष भाईमसला , रगोंली र माटाका दियोको ब्यापारमा बृद्दि भएको उनले बताए ।
तिहारमा मखमली मालाको झन महत्व छ । मखमलीको फूलजस्तै दिदीभाइको सम्बन्ध र माया कहिल्यै नओइल्याउने विश्वास रहँदै आएकाले पनि तिहारमा यसलाई जरुरी नै मानिन्छ ।
यतिबेला नारायणगढका फुल पसलहरुमा मखमली र सयपत्रीको माला झकिझकाउ छन् । शहदिचोकमा मखमलीको माला बेच्न बसेकी पश्चिम चितवन रामपुरकी मनमाया गुरुङले धेरै वर्षदेखि मखमलीको माला बेच्दै आएकी छिन । एउटा मालाको ५० रुपैयाँ मात्र भन्दा पनि अलि महँगो भएन भनेर गुनासो गर्ने भेटिएको उनी बताउँछिन् ।
‘फोहोर जस्तै यसपाली पनि ५० रुपैयाँमा बेच्दा पनि महँगो भयो भन्छन् । घरबाट माला यहाँसम्म ल्याउन झन्झट छ, यो चाहिँ कसैले बुझ्दैनन्’, उनको गुनासो छ ।
भाइ मसला पाइने पसलमा भने व्यापारीलाई भ्याईनभ्याई छ । सानादेखि ठूला मसलाको प्याकेट किन्नेको भिड बढेको छ । पाँच सयदेखि तीन हजार रुपैयाँसम्मको मसला किन्ने मानिस भेटिएको व्यापारी टकंनाथ अर्यालले बताए ।
उनले भने , ‘तिहारमा भाइ मसलाको चलनले गर्दा पनि व्यापार बढेको छ । सबैले आ–आफ्नो अवस्थाअनुसार मसला किन्ने गरेका छन् । कोहीले हामीले नै तयार पारेको मसला लाने गरेका छन् भने कोहीले खुला रुपमा आफैले तयार पारेर लाने गरेका छन् ।’
तिहारमा खासगरी दिदीबहिनीले दाजूभाईलाई सप्तरंगी टिकासँगै सयपत्री र मखमलीको माला लगाइदिने गर्दछन् । बजारमा विभिन्न किसिमका प्लास्टिकका फूलमालाहरु पनि बिक्रिमा राखिएका छन् । आजभोलि आफैले लगाएको सयपत्री र मखमलीको माला भन्दा पनि कृतिम तरिकाबाट बनाइएको माला बजारमा देख्न सकिन्छ ।

तिहारलाई एउटा रङ्गिन पर्वको रुपमा पनि लिईन्छ । घर, बाटोलाई उज्यालो र रङगीचङगी बनाउने पर्व पनि भनिन्छ, मखमली कहिल्यै ओइलाउदैंन, सयपत्रीको रंग कहिल्यैँ उडेर जाँदैन भने दुबो सधैं हरियो रहन्छ भन्ने पौराणिक कथन छ । यसरी आफ्ना दाजु भाइको सम्बन्ध सयपत्री, मखमली र दुबोको माला जस्तै होस् भन्दै कामना गर्दै दिदीबहिनीले सप्तरंगी टिका लगाउने चलन आजसम्म कायमै छ । सप्तरंगी टिकामा भावना मिसिँदा शान्ति वर्षिन्छ, दाजुभाइप्रतिको प्रेमरंगजस्तै गाढा तथा निरोगी भइरहने विश्वास भएपनि बनावटी प्लाष्टिकको मालाले भाइटिका मनाउने सँस्कार र्बिसर्दै गएको पाइन्छ । विगतको भन्दा यसवर्ष मालाको कारोवार राम्रो हुने गरेको व्यापारीहरु बताउँछन् ।

