गैंडाकोट । नवलपुरको गैंडाकोटमा विश्वविद्यालय स्थापनाका लागि चारदिने रणनीतिक कार्यशाला गोष्ठी सुरु भएको छ । ‘नेपाल विश्वविद्यालय’ निर्माणको लागि गठन आदेश भई मन्त्रिपरिषदमा सिफारिस गरिसकिएको बताइएको छ ।
यसलाई गतिदिन तथा सुझाव संकलनका लागि बिहिबारदेखि विश्वविद्यालय चारदिने कार्याशाला गोष्ठी शुरु भएको छ । कार्यशालामा नेपाल विश्वविद्यालय पूर्वाधार तयारी समिति तथा देशका विभिन्न जिल्ला आएका प्राज्ञिक व्यत्तित्वहरुको सहभागिता रहेको छ । बिहीबार कार्याशाला गोष्ठीको उद्घाटन भर्चुवल प्रविधिबाट गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले गर्नुभयो । सो क्रममा बोल्दै नेपालीले स्थापनाको तयारी थालिएको नेपाल विश्वविद्यालयले देश, प्रदेश तथा विश्वलाई नै आकर्षण गर्ने विश्वविद्यालय बन्ने विश्वास व्यक्त गर्नुभयो । यसलाई मूर्तरुप दिनका लागि जुनुसकै सहयोग गर्नपनि प्रदेश सरकार प्रतिबद्ध रहेको उहांँको भनाइ थियो ।
विशिष्टि अतिथि पूर्व उपकुलपति डा केदारभक्त माथेमाले गैंडाकोटमा विश्वविद्यालय बन्न लागेको खबरले आफू उत्साहित भएको बताउनुभयो । पछिल्लो समय विश्वविद्यालयक खोल्ने होडबाजी चलेपनि संख्यालाई भन्दा पाठ्यक्रम परिवर्तन र शिक्षाको गुणस्तरीयतामा ध्यान दिनुपर्ने डा माथेमाले बताउनु भयो ।
हालका विश्वविद्यालयका पाठ्यक्रम पुराना र समयसापेक्ष नभएको भन्दै उहांँले यो विश्वविद्यालय एशियाकै नमुना विश्वविद्यालय बन्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वअर्थमन्त्री डा देवेन्द्रराज पाण्डेले आफ्नो ६ दशकभन्दा लामो शिक्षण यात्रामा नेपालमा शिक्षा र शिक्षककै कमी पाएको बताउनुभयो । नेपालमा विश्वविद्यालय र शिक्षण संस्थामा कमी नभए पनि नेतृत्व तहले जिम्मेवारी, इमान्दारिता नभएको भन्दै उहांँले यसलाई सुधार्नुपर्ने बताउनुभयो ।
समितिका अध्यक्ष डा अर्जुन कार्कीले विश्वविद्यालय स्थापनको तयारी ४ वर्षअघिदेखि सुरु गरिए पनि धेरै चुनौतीका बीच केही प्रगति भएको बताउनुभयो । यसका लागि जग्गा प्राप्तिको बिषय थप चुनौती हुने र सन् २०२३ सम्ममा विश्वविद्यालय सञ्चालनको योजना रहेको उहांँले बताउनुभयो । गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले कार्याशालामा छलफलपछि मन्त्रीपरिषदबाट लगेर निर्णय हुनासाथ काम अघि बढ्ने उहांँको भनाइ थियो । हाल कार्यदलले वातावरण प्रभाव मुल्यांकनका काम भइरहेको उहांँले बताउनुभयो ।
विश्वविद्यालय निर्माण गर्न गैँडाकोट–१० को कोटीहोम पछाडि र गैँडाकोट–१८को आहाले र तात्रीस्वाँराको जग्गा सिफारिस गरिएको छ । नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेल सापकोटाको संयोजकत्वमा गठन गरिएको समितिले तीन वटा ठाउँको जग्गाको विकल्प पेस गरेको छ ।

अहिले नेपाल विश्वविद्यालय गैँडाकोटमा स्थापना गर्न सरकारले २०७८ साल वैशाखमा गठन आदेश जारी गर्दै १५ करोड बढी बजेटसमेत विनियोजन गरेको थियो । नेपाल विश्वविद्यालय विकास समितिको अध्यक्षमा डा. अर्जुन कार्की, ९ जना प्राज्ञिक क्षेत्रबाट र ४ जना सदस्य सचिव रहने गरी विकास समिति बनाइएको छ । डा. कार्कीले धेरै चुनौति पार गर्दै आएको र अव झन् चुनौतिहरु थपिदै गए पनि पार गर्दै जाने बताए । यसमा स्थानीयको साथ र सहयोगनै अपरिहार्य रहेकोमा जोड दिए ।

