चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनअघि जिपलाइन चढेको विषयले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निकै चर्चा पाएपछि चितवन आउँदा यो विषयमा मुख खोलेका छन् ।
देशवासी बाढीपहिरोको कहर झेलीरहेको बेला प्रचण्डले गरेको मनोरञ्जनात्मक क्रियाकलापलाई धेरैले आलोचना पनि गरे । सामाजिक सञ्जालमा आलोचना भयो । देशभरिका मिडियामा समाचार बन्यो ।
यस विषयमा आज प्रचण्डले चितवन आएर भने ‘ यो विषय देशभरी समाचार बनाउनुपर्ने विषय हो जस्तो लाग्दैन । त्यो बारेमा म धेरै टिप्पणी गर्न चाहन्न । एक रातको लागि सुकुटे गएको थिएँ । फर्किँदाखेरि जिपलाइन चढ्न रमाइलै हुन्छ भन्ने कुरा भयो । तुरुन्तै निर्णय गरेर चढेँ । तपाईंहरूले त्यसलाई सामान्य परिघटनाका रूपमा लिँदा पनि हुन्छ । मेरो जोखिमपूर्ण क्रियाकलाप गर्ने रुचीलाई सकारात्मक ढंगले हेर्दा पनि हुन्छ । यत्रो ठूलो चर्चा हुनुपर्ने विषय होइन यो ।’

