चितवन । चितवनका ठूलठूला आयोजनाहरु तोकिएको समयमै नसकिएको प्रशस्त उदाहरणहरु रहेका छन् । चाहे भरतपुर बाइपास सडक होस् वा गीतानगर पटिहानी सडकको ढल निर्माण कार्य होस् वा भरतपुरको लिंक रोड र रिङ रोड होस् । सडकका ठूला सडकका आयोजनाहरु समयमै कम मात्रामा सकिएका छन् । केही सडकका आयोजनाहरुमा निर्माण कम्पनी नै बेपत्ता भएका छन् ।
भरतपुर महानगरमा सञ्चालित योजनामध्ये सघन शहरी डिभिजन कार्यालय अन्तरगत संचालित रिंगरोड तथा लिंकरोड प्याकेज एक र व्याकेज दुई, सडक पहुच सहितको रानी पोखरीपार्क र लक्ष्मीनारायण मन्दिरको प्रगति न्यून छ भने भरतपुर केन्द्रीय बसपार्कको प्रगति न्यून रहेको छ ।
देवघाटमा निर्माणाधिन विद्युतीय शवदाह गृहको कार्य प्रगति पनि असाध्यै न्यून छ । यस्तै, डिभिजन सडक कार्यालय अन्तरगत संचालित हाकिमचोक जगतपुर हुलाकी सडक र ऑपटारी जिल्ला कार्यालय सडकको प्रगति न्यून छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्माण व्यवसायीको अनेक बहानाबाजीले ठूला आयोजनाहरु समयमै नसकिएको बताइन् । उनले भनिन्, ‘निर्माण व्यवसायीको अनेक बहानाबाजीले निर्माणको काममा ढिलाइ भएको छ, यस्तो बहानाबाजी अब चल्दैन ।’
उनले ठूला आयोजना निर्माणको ठेक्का लिएका व्यवसायीहरुलाई समयमै कार्य सम्पन्न गर्न निर्देशन दिएकी छन् । उनले ठूलाठूला आयोजनाहरू निर्माणको जिम्मा लिएर विभिन्न बहानाबाजी गर्दै समयमै काम नगरेकोमा आपत्ति जनाउँदै अब यस्तो कुनै पनि प्रकारका बहानाबाजी आफूहरूलाई मान्य नहुने बताइन् ।

भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालन गरेको सघन शहरी विकास तथा भवन कार्यालय, डिभिजन सडक कार्यालय तथा महानगरपालिका अन्तर्गत संचालित विकाससम्बन्धी दर्जन बढी आयोजनाहरूको प्रगति सुन्दै प्रमुख दाहालले भनिन्, ‘चर्को बहानाबाजी पुग्यो, अब समयमै काम चाहियो ।’
कार्यक्रममा प्रमुख दाहालले ३ बर्षको ठेक्का सम्झौता गर्ने कार्यालय र निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको काम गराइले आफूहरुलाई हैरान बनाएको बताइन्। कार्य प्रगतिप्रति आक्रोश पोख्दै उनले भनिन्, ‘तीन बर्ष ठेक्का सम्झौताको अवधी रहेका आयोजनाहरूको ४ वर्ष पुगिसक्दा पनि ५५ र ६० प्रतिशत प्रगति नहुनु के हो ?
उनले बहानाबाजी गरेर काम नगर्ने छुट कसैलाई नभएको भन्दै सम्बन्धित कार्यालयका प्रमुख र निर्माण व्यवसायीहरुलाई कार्यतालिका बनाएर तत्काल काम सम्पन्न गर्न निर्देशन समेत गरिन् । ‘भरतपुर महानगरपालिकाले समयमै गुणस्तरीय काम सम्पन्न गर्न सहजीकरण र समन्वय गरिरहेकै छ, तर तपाइँहरू कामै गर्नुहुन्न’ प्रमुख दाहालले भनिन्, ‘कहॉ के समस्या छन्, कसरी हल गर्न सकिन्छ, म हल गर्न तयार छु तर मलाई परिणाम चाहिन्छ ।’ कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले भनिन्, ‘हामी समयमै काम सम्पन्न होस्, नागरिकले त्यसको अनुभूति गर्न पाउन् भनेर हमेसा लागिरहेका छौ तर निर्माण ब्यवसायी मित्रहरू कानमा तेल हालेर बस्नुहुन्छ ।’

प्रमुख जिल्ला अधिकारी आसमान तामाङले ठेक्का लिने र अनेक बहाना झिकेर काम नगर्ने निर्माण व्यवसायीहरुको बानी नफेरिएको भन्दै यो प्रवृत्ति सच्याउनुपर्नेमा जोड दिए । निर्माण व्यवसायीहरू ठेक्का सम्झौता गरेर अनन्तः कालसम्म लम्ब्याई रहन ठेक्का नदिएको भन्दै उनले सम्झौता अवधिभित्रै गुणस्तरीय ढंगले काम सम्पन्न गर्नुपर्ने बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी तोकियकै समयमा निर्माण कार्य सम्पन्न नगर्नु राज्यको स्रोत साधनको दुरूपयोग गर्नु हो भन्दै यस्तो दुरूपयोग गर्ने छुट कसैलाई नभएको बताए । आयोजना संचालित वडाका अध्यक्षहरूले विकास योजनाहरु ढिला हुँदा जनताको आक्रोस र हैरानी सहनुपरेको भन्दै जवाफदेही भयर काम गर्न आग्रह गरे ।

