चितवन । उच्चरक्तचाप र सुगरका विरामी मृगौलासम्बन्धी रोगको उच्च जोखिममा रहेको चिकित्सक बिशेषज्ञले बताएका छन । आज भरतपुर अस्पतालमा मृगौला पीडित सरोकार समाज नेपाल, चितवन शाखाले आयोजना गरेको मृगौला रोग सचेतना कार्यक्रममा अस्पताल चिकित्सक, बिशेषज्ञले मृगौला पीडितहरु अधिकांश उच्च रक्तचाप र सुगरका विरामी भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले मृगौला रोगनै उच्चरक्तचाप र सुगरबाटनै शुरु हुने बताए । ‘पहिलो स्टेजमै बढी यही विरामीमा भएको देखियो , उनले भने , रक्तचाप नियमित जांँच गराए १३ प्रतिशत मृगौला रोग रोकिन्छ ।’ उच्च रक्तचाप र सगुरका अधिकांश मृगौला सम्बन्धी रोग ‘क्रोनिक किड्नी डिजिज’को शिकार हुने र त्यस्ता नियमित डायालिससको आवश्यकता हुने डा अधिकारीको भनाई छ ।
विश्वमा ४५ करोड मानिसमा सुगरका विरामी रहेको बताउंँदै उनले त्यसमध्ये ११ प्रतिशत विरामी ‘क्रोनिक किड्नी डिजिज’ बाट पीडित भएको उनले बताए । पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोग बढी चुनौति रहेकोले मृगौलासम्बन्धी रोग समेत भयावह बन्दै गएको उनको भनाई छ । ‘४० बर्ष अघिमात्र सर्ने ६७ प्रतिशत सरुवा रोग थियो, उनले भने, अहिले ठ्याक्कै उल्टो ६७ प्रतिशत नसर्ने रोगको चुनौति छ ।
मृगौला रोग बिशेषज्ञ डा सन्तोष गुरुङ्गले पछिल्लो समय मृगौला सम्बन्धी विरामी अप्रत्यासित रुपमा बढेको भन्दै मृगौला विरामीले नियमित डायालासिस नगरे मृत्युनै हुने बताए । ‘मृगौलाले राम्रोसंँग काम गर्न छाडेपछि कि नियमित डायालासिस हुनुपर्यो कि किड्नी ट्रान्सप्लान्ट गर्नुपर्यो, उनले भने, यसबाहेक अन्य विकल्प छैन ।’ डायालासिस गर्ने बिरामीहरु बढीमा ३० बर्ष बांच्ने तथ्यांक रहेको र डा गुरुङ्गले बताए । नेपालमा यसको उपचार प्रक्रिया महंगो, सरकारी नीति सहज नभएको र सचेतनामा कमी भएका कारण मृत्यु हुने गरेको उनको भनाई छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्ण पौडेलले मृगौला सम्बन्धी रोगका लागि डायालासिसको साथै सरकारले मृगौला ट्रान्सप्लान्ट नीतिलाई सहज बनाउनुपर्नेमा जोड दिए । ‘मृगौला ट्रान्सप्लान्ट सहज भयो भने डायालासिस गर्ने विरामी पनि कम हुन्छ, उपचार खर्च पनि कम हुनजान्छ ।’ प्राडा पौडेलले भने । भरतपुर अस्पतालमा दुईदर्जन भन्दा बढी जिल्लाबाट डायालासिसको बिरामी आउने गरेको र हाल ८ वटा मेशीनले सेवा दिईरहेको उनले जानकारी दिए ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले हाल अस्पतालमा मासिक १२० जनाले विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत निशुल्क डायालासिस उपचार गराईरहेको जानकारी दिए । यहांँ दैनिक ३२ जनाले डायालासिस गर्दै आएका छन । जिल्लामा हाल ३६० जनाले मृगौला पीडितले नियमित उपचार गराईराखेका छन् भने देशभर ३२ हजारले मृगौला सम्बन्धी रोगको उपचार गर्ने गरेका छन । यत्तिकै संख्यामा मृगौला रोगी अस्पतालनै आउने गरेका छैनन ।
सहभागी मृगौला पीडित र परिवारले आफूहरुलाई डायालासिस बाहेक अन्य उपचार र औषधि महंगो भएको , रगत सहजै नपाउने गरेको भन्दै गुनासो गरेका थिए । देशभरमा मृगौला रोगी मध्ये सरदर ७ हजार ३ सयले नियमित डायालासिस गर्ने गर्दछन । देशभरका अस्पतालमा गरी ५६५ वटा डायालासिस मेशीन रहेको तथ्यांक छ ।

