चितवन । चालु आर्थिक वर्ष ०७८÷७९ को तीन महिनामा यातायात व्यवस्था कार्यालय चितवनले झण्डै १८ करोड आम्दानी गरेको छ । कार्यालयको तथ्यांक अनुसार चालु आवको श्रावण, भदौ र असोजमा कार्यालयले १७ करोड ९८ लाख ६८ हजार ५९३ रुपैयाँ आम्दानी गरेको हो ।
जसअनुसार सबै शीर्षकमा गरी कार्यालयले साउन महिनामा ७ करोड ४७ लाख ९५ हजार ९३० आम्दानी गरेको थियो । यस्तै, भदौ महिनामा कार्यालयले कुल ४ करोड ३६ लाख १५ हजार ३०४ रुपैयाँ आम्दानी गरेको छ । असोज महिनामा कार्यालयले ६ करोड १४ लाख ५७ हजार ३५९ रुपैयांँ आम्दानी गरेको छ ।
कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारी साधन कर र सवारी दस्तुर शीर्षकमा कर संकलन गर्दै आएको छ । जसअनुसार तीन महिनामा यातायात क्षेत्रको आम्दानीबाट १ करोड ५१ लाख ९३ हजार ९२५ रुपैयांँ, प्रशासनिक दण्ड जरिवाना शीर्षकबाट तीन महिनामा १९ लाख ३२ हजार ७९५ रुपैयाँ, सवारी साधन कर शीर्षकबाट सो अवधिमा १५ करोड ३५ लाख १६ हजार ८६८ रुपैंयाँ र सवारी दस्तुर कर शीर्षकमा तीन महिनामा ९२ लाख २५ हजार ५ रुपैयाँ आम्दानी गरेको छ ।
कार्यालयको चालु आवको भदौ महिनामा भन्दा असोज महिनाको आम्दानीमा न्यून वृद्धि भएको छ । तथ्यांकअनुसार भदौ महिनामा यातायात क्षेत्रको आम्दानी शीर्षकबाट ४५ लाख ४ हजार ८१० रुपैयाँ गरेको थियो भने यही शीर्षकमा असोज महिनामा ३६ लाख ६९ हजार २७५ रुपैयाँ आम्दानी गरेको छ । यस्तै भदौ महिनामा प्रशासनिक दण्ड जरिवाना शीर्षकमा कुनै पनि आम्दानी नगरेको कार्यालयले असोज महिनामा १९ लाख ३२ हजार ७९५ रुपैयाँ आम्दानी, सवारी साधन कर शीर्षकमा भदौ महिनामा ३ करोड ७० लाख ५ हजार २९ रुपैयाँ आम्दानी गरेको थियो । सोही शीर्षकमा असोज महिनामा ५ करोड २२ लाख ७८ हजार ६८९ आम्दानी र भदौ महिनामा सवारी दस्तुर कर शीर्षकबाट २१ लाख ५ हजार ४६५ रुपैयाँ आम्दानी गरेको हो । असोज महिनामा ३५ लाख ७६ हजार छसय रुपैंया आम्दानी गरेको छ ।
कार्यालयका प्रमुख सुवास उप्रेतीले भदौमा १० दिन निशेषधाज्ञाका कारण कार्यालय बन्द भएकोले आम्दानी कम भएको बताए । ‘भदौमा १० दिन कार्यालय बन्द भयो । असार मसान्तमा तिर्न नभ्याएकाले श्रावणमा तिरे । असोजमा चाडपर्व परे पनि भदौको भन्दा आम्दानीमा केही वृद्धि भयो’ उप्रेतीले भने । कार्यालयमा हाल सवारी अनुमतिपत्र वितरण र नवीकरणबाहेक सबै काम हुने गर्दछ । यहाँ नयांँ सवारीसाधन दर्ता, नवीकरण, नामसारी, सहमति दर्ता लगायतका कामहरु हुने उप्रेतीले जानकारी दिए ।

