काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुलिखेल पुगेर ‘जिपलाइन’ को मज्जा लिएका छन् ।
प्रचण्ड जिपलाइनमा रमाएको तस्बिर विष्णुकान्त घिमिरेले फेसबूकमार्फत साझेदारी गरेका छन् । काठमाडौँबाट ३५ किमिको दूरीमा रहेको जिपलाइन ०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरू भएको हो । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ्ग स्टेशन (खावा, पाँचखाल) सम्मको जिपलाइन ११ सय मिटर लामो छ ।
साहसिक गतिविधिमा आफू रमाउने बताउँदै आएका प्रचण्डले शुक्रबार (आज) बिहान परिवारसहित धुलिखेल पुगेर जिपलाइनको अनुभव लिएका हुन् । जिपलाइनबाट ओर्लिएपछि प्रचण्डले आफूलाई जिपलाइन निकै मज्जा लागेको बताए ।





