काठमाडौं। नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने माग गरेका छन् ।
सभापति शेरबहादुर देउवासहित पदाधिकारीले महाधिवेशन माघसम्म सार्ने तयारी गरिरहेका बेला नेता सिंहले अब सार्न नहुने धारणा राखेका हुन् ।
‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ । क्रियाशिल सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ,’ उनले भने, ‘यस अघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’
बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले अधिवेशन त समयमा नै गर्न नसकेको काँग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको सुनाए । पार्टीलाई ठिक ठाउँमा ल्याउनको लागि विधि र पद्धतिको सबैले सही ढंगले पालना गर्नुपर्नेमा उनको जोड थियो ।
अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगिसके पछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नु पर्ने उनको भनाइ छ । राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहले बताए ।
सिंहले नेतृत्वले परम्परा र मूल्य मान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको आरोप लगाए । १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधिपद्धति र मूल्य मान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको उनको तर्क छ ।
उनले विधिसम्मत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनको लागि सक्षम नेतृत्वको आवश्यकता रहेकोसमेत औंल्याए । पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने, तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो ।
गणेशमानको परिवारले सधै त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले दाबी गरे । पार्टीभित्रको ए काँग्रेस, बी काँग्रेस र सी काँग्रेस हटाउनुपर्ने भन्दै उनले जनताको इच्छा र चाहनाअनुसार काम गर्नसक्ने पार्टीको रुपमा काँग्रेसलाई पुन: स्थापित गर्न आफू लागि परेको दाबी गरे ।
हरेका आन्दोलनमा आफूले संघर्ष गर्दै आएको भन्दै उनले गणेशमानको छोरा भएरमात्र राजनीतिमा नआएको बताए । राजनीतिमा प्रवेश गर्न आफ्नो छुट्टै संघर्ष रहेको बताउँदै सिंहले धेरै अवरोधहरुको सामना गर्दै आएको स्मरण गरे । अरु क्षेत्रमा असफल भएर आफू राजनीतिमा आएको व्यक्ति नभएको उनले स्पष्ट पारे । अब जनताले चाहेको आर्थिक सम्पन्ताको अभियानमा पनि काँग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागि ठिक नेताको आवश्यक रहेको उनले जिकिर गरे । न्युज कारखाना

