चितवन । भरतपुर महानगरपालिकाको अगुवाईमा आयुर्वेदिक अस्पताल बन्न लागेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालको शिलान्यास गरेकी हुन्।
नौकोठे आरसिसी भवनको सिलान्यास गर्दै प्रमुख दाहालले चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवातर्फ विशेष ध्यान दिन आग्रह गरिन् । उनले भरतपुरमा कोही पनि नगरवासी आधारभूत स्वास्थ्य सेवाबाट वन्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ हरेक क्षेत्रमा स्वास्थ्य केन्द्र र औषधालयहरूको निर्माण र विस्तारमा जोड दिएको बताइन् ।
शिलान्यास गरिएको देवघाट आयुर्वेदिक औषधालय ६५ लाखको लागतमा ९ वटा आधुनिक कोठा रहनेछ । समयमै गुणस्तरीय ढंगले निर्माण सम्पन्न गरी सेवा सुचारू गर्न प्रमुख दाहालले आग्रहसमेत गरिन् ।महानगर प्रमुख दाहालले निर्माणाधिन आयुर्वेदिक औषधालयले देवघाट क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुग्ण राख्नुका साथै यस क्षेत्रको विकासमा अझै महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाट क्षेत्रमा निर्माणाधीन आयुर्वेदिक औषधालयले यस क्षेत्रमा आउने धर्मावलम्बी तथा स्थानीय नागरिकहरूलाई आयुर्वेदिक उपचारमा सहयोग पुग्ने बताए । स्थानीयवासीको स्वास्थ्य उपचारमा सहज पहुँच पु-याउने उद्देश्यले भरतपुर महानगरपालिकाले नगर क्षेत्रभित्र शारदानगर र शिवनगरमा अस्पताल संचालन गरेको छ भने ४० स्थानबाट नगर स्वास्थ्य क्लिनिक, मातृ शिशु क्लिनिक, हेल्थपोस्ट लगायतकाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
शिलान्यास कार्यक्रम महानगरपालिका वडा नं १ का अध्यक्ष तथा देवघाट आयुर्वेदिक औषधालय व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

