चितवन । भित्र्याउने बेलाको धान डुबाएपछि चितवनका किसान गम्भीर चिन्तामा परेका छन् । आइतबार रातिदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको छ। वर्षभरि खान पुग्ने गरी लगाएको धान थन्काउने समयमा आएको बेमौसमी झरीले धानबाली खेतमै डुबाएको छ । बाढीका कारण हिउँदेबाली लगाउन पाइने आश समेत मरेको किसानहरु बताउँछन् ।
काटेर भित्र्याउ ठिक परेको धान पानीले नष्ट पारे पछि भरतपुर महानगरपालिका वडा न २२ कि रमा पौडेल थप चिन्तित बनेकी छन् । उनले भनिन्, ‘निकुञ्जको नजिक छौँ, कहिले बँदेलले खेती नष्ट पार्छ कहिले वर्षाले ।‘ उनले वर्षभरि पुग्ने धान खेती पानीले गर्दा गाईबस्तुको लागि पराल पनि नहुने बताइन् । उनले अनुदानको लागि वडा कार्यालयमा सामुहिक निवेदन हाल्ने तयारीमा रहेको बताइन् ।
भरतपुर २२ कै अर्का किसान निलकण्ठ तिवारीले ८, ९ कठ्ठामा खानको लागि लगाएको धान वर्षाले सखाप पारेको बताए । उनले धान नष्ट भएपछि खानको लागि चामल किन्न बाध्य भएको बताए । कोरोनाको कहरबाट भर्खर उठेका तिवारीलाई फेरि बर्षाले ढाल्यो । उनले किसानहरुको लागि राज्यले केही राहत दिनपर्ने बताए ।
भरतपुरका रुद्रमणि आचार्यले १० कठ्ठामा लगाएको धान पानीले भिजेको बताए । कुनै पाकेको त कुनै हरियो धानलाई पानीले बिगारेपछि निकै निराश देखिन्छिन् आचार्य । उनी भन्छन्, ‘आँखै अगाडि आफ्नो धान बिजोग भयो, हेरेर बस्न बाहेक केही गर्न सकिनँ । सम्बन्धित निकायले केही राहत देहोस् भन्ने चाहना छ ।‘

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले सबै पालिकामा स्थलगत निरीक्षण र दैनिक क्षतिको विवरण लिने काम भइरहेको बताए । उनले अविरल वर्षाका कारण चितवनमा ५० प्रतिशत धानमा क्षति भएको बताए । पाण्डेले काट्न काँकी रहेको १५ प्रतिशत धान ढलेको समेत जानकारी दिए । उनका अनुसार वाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकहरुको लागि अनुदानको योजना बनाएको र कति क्षति भएको विवरण बुझ्न प्रत्येक पालिकामा पत्रचारसमेत गरेको जानकारी दिए । उनले चितवनमा यस वर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान रोपिएको बताए ।
गत वर्षमा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा १ लाख ३ हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको थियो । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरा मसिनालगायत धान लगाइने गरिन्छ ।

