चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आफ्नो कार्यकालमा विगतको विकट माडीलाई सबैले गौरब गर्न सक्ने नयाँ माडी भन्ने अवस्थामा पुर्याएको बताउनुभएको छ ।
बुधबार साझ सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नगरप्रमुख ढकालले पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, सिंचाई, खेलकुद लगायतका क्षेत्रमा आम माडीबासीले विगतमा भन्दा अहिले गौरब गर्नेगरी परिवर्तन र विकास भएको बताउनुभएको हो । यसका लागि आफूले नगर प्रमुखको हैसियतले नेतृत्व गर्दै सबैसंगको सहकार्यबाट माडीलाई यहाँसम्म ल्याउन सम्भंव भएको उहाँको लेखाई छ ।
नगरप्रमुख ढकालले विगतमा हुलाकी सडक बाहेक अन्य बाटाहरु हिड्न मिल्ने खालको नरहेकोमा अहिले भित्री बाटोहरुमा समेत सहजै गाडी गुड्ने गरेको र बाटोहरुमा तिव्रगतिमा कालोपत्रे भैरहेको, खोलाहरुमा गरिएको तटबन्धनले बर्षातको समयमा पनि माडीबासीहरु ढुक्क सगँ निदाउन पाएको, झन्डै ९७ प्रतिशत विद्युतिकरणको काम पुरा भई उज्यालो माडी घोषणाको चरणमा रहेको र सबै घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने उद्देश्यका साथ साविकका ४ वटै गा.वि.स.मा ठुला खानेपानीका योजना संचालनमा रहेको उल्लेख गर्नुभएको छ ।
त्यस्तै, सामुदायिक विद्यालयहरुमा गरिएको लगानी र त्यसले दिएको नतिजाले माडी नगरपालिका शिक्षामा देशमै नमुनाका रुपमा प्रस्तुत भैरहेको, प्राविधिक शिक्षालयको स्थापना, उच्च शिक्षा अध्ययन गर्न सदरमुकाम भरतपुर लगायतका शहरमा जानुपर्ने बाध्यताको अन्त्य गरी माडी मै निःशुल्क प्राविधिक शिक्षा, विज्ञान लगायतका अन्य विषयहरु अध्ययनको ब्यवस्था हुनुले माडी शैक्षिक हब बन्दै गरेको नगरप्रमुख ढकालको लेखाई छ ।
त्यसैगरी, अति-विपन्न, विपन्न, दलित, चेपाङ्ग, सामाजिक रुपमा पछाडी पारिएका समुदायको उत्थानका लागि निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, आवास निर्माण, जिविकोपार्जनका लागि अनुदान एवम् विनाधितो निब्र्याजी ऋण लगायतका कार्यक्रमले सो समुदायको जिवनस्तरमा सकारात्मक परिवर्तन आईरहेको नगरप्रमुख ढकालको भनाई छ । स्वास्थ्यको पहँुच वडा तह सम्मै पुर्याइएको र बघौंडा अस्पतालको क्षमता तथा सेवा वृद्धि गर्दै सुविधा सम्पन्न भवन निर्माण भैरहेको पनि लेखिएको छ ।
यसबाहेक सुख्खा ठाउँमा बोरिङ्ग गाडेर सिंचाईको सहज उपलब्धता गरिएको, उत्पादनमा अनुदान जस्ता कार्यले कृषिमा आकर्षित हुनेको संख्या तथा उत्पादनमा वृद्धि हुदै गएको जनाइएको छ । पछिल्लो समय माडी आउने पर्यटकको संख्यामा वृद्धि भएको र पर्यटन उद्योगको विकास भई स्थानीयको जिवनस्तरमा समेत परिवर्तन आएको नगरप्रमुख ढकालको भनाई छ । सिमित स्रोतसाधन अनि न्युन बजेटबिच वडा एवं नगरस्तरबाट धेरै कामहरु भैरहेपनि माडीको समग्र परिवर्तनप्रति केहि पक्षले झुठा, भ्रामक र कपोकल्पित तर्क गर्दै हिडिरहेको पनि उहाँको दुखेसो छ ।

