चितवन । आन्तरिक राजश्व कार्यालय, भरतपुरले चालु आर्थिक बर्ष ०७८–०७९को असोज महिनामा लक्ष्य भन्दा ७० दशमलबव ३७ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको हो । जसअनुसार कार्यालयले असोज महिनामा ८३ करोड एक लाख ६७ हजार रुपैंयांँ राजश्व असुली गरेको छ । कार्यालयका अनुसार सो महिनामा विभागले कार्यालयलाई १ अर्ब १७ करोड ९६ लाख ७७ हजार रुपैयांँ लक्ष्य दिएकोमा कार्यालयले २ अर्ब ९८ लाख ४४ हजार रुपैंया असुली गरेको थियो ।
अन्तःशुल्क शिर्षकमा झण्डै दोब्बर असुली
कार्यालयले सबै शिर्षकभन्दा बढी अन्तशुल्क शिर्षकमा लक्ष्यभन्दा झण्डै दोब्बर असुली गर्न सफल भएको छ । यस शिर्षकमा असोज महिनामा ९६ करोड २६ लाख ६ हजार लक्ष्य दिइएकोमा कार्यालयले १ अर्ब ७३ करोड ८२ लाख ६५ हजार रुपैया असुल गरेको हो । यस्तै आयकर शिर्षकमा पनि कार्यालयले लक्ष्यभन्दा दोब्बर बढी कर असुली गरेको छ । जसअनुसार उक्त महिनामा यो शिर्षकमा ७ करोड ५८ लाख ६३ हजार लक्ष्य दिइएकोमा १५ करोड ९० लाख ८२ हजार रुपैयांँ कर असुली गरेको छ । तर अन्य शिर्षकमा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । जसअनुसार बहालकर शिर्षकमा ४० लाख ५३ हजार लक्ष्य दिईएकोमा २३ लाख ६१ हजार रुपैयांँ , व्याजकर शिर्षकमा १ करोड ३ लाख ४१ हजार लक्ष्य दिइएकोमा २९ लाख २६ हजार रुपैंया असुली भएको छ ।
यस्तै मुल्य अभिवृद्धि कर शिर्षकमा १५ करोड ६२ लाख ४५ हजार लक्ष्य दिईएकोमा १० करोड ७२ लाख २ हजार रुपैयांँ , स्वास्थ्य सेवा कर शिर्षकमा एकलाख ६९ हजार लक्ष्य दिइएकोमा ८ हजार रुपैंया र शिक्षा सेवा करमा ४ लाख रुपैंया लक्ष्य दिईएकोमा शुन्य रकम असुली गरेको छ ।
कार्यालयका कर अधिकृत शुशील लम्सालले मदिराजन्य बस्तुबाट आउने करनै चितवन जिल्लाको प्रमुख करको स्रोत भएकोले लक्ष्यभन्दा बढी कर असुल्न सकिएको बताए । ‘हाम्रो अन्य समयमा त अन्तशुल्क बाटनै बढी कर असुली हुन्छ उनले भने, अहिलेको चाडपर्वको समयमा त झन् यसको उत्पादन र विक्री बढ्यो । कोरोना पछि आर्थिक गतिविधि पनि बढ्यो । ’अन्य कर शिर्षकहरु कार्यालयको सहयोगी स्रोत मात्र भएकोले समय अनुसार घटबढ हुने उनको भनाई छ । आयकर शिर्षकमा करदाताको विवरण बुझाउने अन्तिम म्याद भएकोले पनि आयकर शिर्षकमा दोब्बर बढी कर असुली भएको लम्सालले बताए ।
विभागले कार्यालयललाई चालु आर्थिक बर्षका लागि २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैंयाको लक्ष्य दिईएकोमा असोज सम्म तीन महिनाको अवधिमा कार्यालयले ४ अर्ब ८२ करोड ६६ लाख ३९ हजार रुपैंया संकलन गरेको छ । असोजसम्म कार्यालयलाई विभागले ३ अर्ब ८४ करोड ६ लाख ८ हजार रुपैंयाको लक्ष्य दिएको थियो ।

