चितवन । नारायणगढको कमलनगरबाट आठ दिनदेखि बेपत्ता भएका एक बालक हालसम्म भेटिएका छैनन् । बालकका परिवारले सबैतिर खोजी गरिदिन हारगुहार गरिरहेका छन् ।
नवलपुरको देवचुली– १६ रजहरका सिद्धबहादुर विक र जमिला मियाका १२ वर्षका छोरा कृष्ण विक नारायणगढको कमलनगरबाट हराएका हुन् । बालकका आमा जमिला विकले गत असोज २५ गते साढे ४ बजे भरतपुरको कमलनगरबाट बालक हराएको बताइन् ।
चितवन प्रेससँगको कुराकानीमा उनले भनिन्, ‘२५ गते हराएको छोरा हालसम्म फेला परेको छैन, उसको दिदीको घर जाँदा मैले आफ्नो घर जाने बाबु अब भनेको थिएँ । जान्नँ भन्दै दिदीको घरबाट निस्केको थियो । अहिलेसम्म आएको छैन । बालकको खोजी गर्न प्रहरीदेखि सबैसँग भनिरहेका छौँ ।’
घरबाट निस्कँदा बालकले रातो टिसर्ट र निलो जिन्सको पाइन्ट लगाएका थिए । वडा प्रहरी कार्यालय नारायणगढले बालकको खोजी भइरहेको जनाएको छ । प्रहरीका अनुसार बालकको खोजी गरे पनि हालसम्म केही पत्ता लगाउन सकिएको छैन ।

