चितवन । माडी माध्यमिक विद्यालयमा लामो समयसम्म सेवा गरी सोही विद्यालयबाट निवृत्त हुनुभएका पूर्व शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ ।
दशैं पर्व विशेष पुनर्मिलन कार्यक्रम मार्फत माडी माध्यमिक विद्यालयको भूतपूर्व विद्यार्थी समाजले पूर्व शिक्षक र विद्यालयका निवृत्त कर्मचारीहरुलाई खादा र सम्मानपत्रसहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा माडी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक शुरेस थापा र मान बहादुर भुजेल, पूर्व शिक्षकहरु नरेन्द्रराज श्रेष्ठ, तिलक बहादुर गुरुङ, टिकाराम पौडेल र झलकराम बराल तथा पूर्व कर्मचारीहरु विशेश्वर प्रसाद चौधरी र खरिलाल पराजुली रहनुभएको छ ।
बुधबार उपस्थित हुन नसक्नुभएका शिवचन्द्र राय, देव प्रसाद पौडेल, गंगाराम तिमिल्सिना, कृष्ण बहादुर प्रसाई र कृष्ण प्रसाद पौडेललाई समेत सम्मान गरिने समाजले जनाएको छ । समाजका अध्यक्ष चोकलाल (राजन) काफ्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ ओझा एवं पूर्व विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो । सहभागीहरुले आपसमा दशैं, तिहार र छठको शुभकामना व्यक्त समेत गरेका थिए ।

