चितवन । भरतपुर महानगरपालिका वडा नं २५ मा रहेको राष्ट्रिय मावि शोसीका छात्रालाई निःशुल्करुपमा सेनेटरी प्याड वितरण गरिएको छ । समाजसेवी तथा शिक्षाप्रेमी भरतपुर २५ निवासी अन्जना सुवेदीले कक्षा सातदेखि कक्षा १० सम्म अध्ययनरत छात्राहरुलाई प्याड वितरण गरेकी हुन् ।
समाजसेवी सुवेदीबाट एक छात्रालाई ६ महिनासम्मलाई पुग्ने गरी सेनेटरी प्याड वितरण भएको विद्यालयका प्रधानाध्यापक मैतसिङ तामाङले जानकारी दिए । राज्यले प्याडमाथि कर बढाइरहेको अवस्थामा छात्राहरुलाई केही सहयोग पुग्ने उद्देश्यले प्याड वितरण भएको प्रअ तामाङको भनाइ छ ।
वितरण कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष काशी न्यौपानेले प्याडमाथि कर लगाएर सरकारले आममहिलाको स्वास्थ्यमाथि खेलवाड गरिरहेको अवस्थामा स्थानीय समाजसेवी अन्जना सुवेदीबाट विद्यार्थी छात्राहरुलाई प्याड वितरण गरेर स्वास्थ्य सुरक्षामा सकारात्मक सन्देश गएको बताए ।
विद्यालयका सहायक प्रधानाध्यापक तारानाथ अधिकारीले समाजसेवी अन्जना सुवेदीबाट प्याड वितरणले छात्राहरुमा खुसी छाएको बताए । उनले महिनावारी भएको समयमा छात्राहरु विद्यालय नआउने समस्या पनि अब हट्ने बताए । प्याड वितरण कार्यक्रममा उनले भने, ‘प्याडको प्रयोग नगर्ने छात्राहरुले पनि अब सुरक्षित भएर प्याडको प्रयोग गर्नुपर्छ भन्ने कुरा बुझ्ने सक्नेछन् ।’
कार्यक्रममा समाजसेवी सुवेदीले आउने दिनहरुमा पनि छात्राहरुलाई सेवा पुग्ने खालका अन्य सहयोगका कार्यक्रमहरुलाई निरन्तरन्ता दिने बताइन् । सुवेदीले छात्रासँगै विद्यालयलाई पनि एक सय प्याकेट प्याड हस्तान्तरण गरेकी थिइन् । प्याड वितरणको कार्यक्रम विद्यालयकी शिक्षिका विनिता श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।
यस विद्यालयमा आदिवासी जनजाति विद्यार्थीहरुको बाहुल्यता रहेको छ । विद्यालयमा झन्डै ६०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

