काठमाडौं । नेपालमा जब विमान दुर्घटना हुन्छ, उडान सुरक्षामा प्रश्न उठ्छ । सरकारले एउटा छानबिन समिति बनाउँछ, समितिले केही समय लगाएर प्रतिवेदन दिन्छ, सकिन्छ । हरेक पटक यही नियति दोहोरिन्छ ।
११ असोजमा बुद्ध एयरको विमान ल्याण्डिङ गियरसम्बन्धी समस्याका कारण अवतरण हुन सकेन । यस पटक पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको छ ।
समितिले नेपालमा सञ्चालनमा रहेका वायुसेवा कम्पनीहरुको भौतिक, यान्त्रिक तथा अभिलेखीय अवस्थाको अध्ययन, अवलोकन र अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ ।
के छ नेपाली विमानहरुको अवस्था ?
समितिले के प्रतिवेदन दिन्छ, अहिले नै अनुमान गर्न हतार हुन्छ । तर नेपाली आकासमा उडिरहेका थुप्रै विमान भने तीन/चार दशक पुरानो भएको पाइएको छ ।
नेपाली आकासमा अहिले उडिरहेका जहाजको आयु केलाउँदा चार दशक अगाडिसम्म पुगिन्छ ।
नेपालमा उडान भरिरहेको सबभन्दा पुरानो जहाज हो, तारा एयरको डीएचसी ६/३०० । दुर्गम भेगमा उडान गरिरहेको यो जहाज ५ अपि्रल १९७९ मा बनेको हो ।
नेपाल एयरलाइन्ससँग पनि अर्को पुरानो जहाज छ, ट्वीनअटर डीएचसी-६ । सन् १९८४ मा किनेका यस्ता तीन वटा जहाज छ नेपाल एयरलाइन्ससँग । एउटा उड्न नसक्ने अवस्थामा छ भने अन्य २ वटा जहाज भने अहिले पनि उडानयोग्य अवस्थामा छन् । हवाई विज्ञहरुका अनुसार ट्वीनअटर जहाज यस्तो एयरक्राफ्ट हो, जसको आयु तोकिएको छैन ।
हवाई विज्ञहरुका अनुसार ट्वीनअटर जहाज यस्तो एयरक्राफ्ट हो, जसको आयु तोकिएको छैन ।
आन्तरिक उडान गर्ने अर्को कम्पनी सीता एयरसँग पनि तीन दशकभन्दा पुरानो जहाज छ ।
डोर्नियरले सन् १९८१ देखि १९९८ को बीचमा कुल २४५ वटा जहाज निर्माण गरेको थियो । सीता एयरसँग त्यही सिरिजमा उत्पादन भएका चार वटा ‘डोर्नियर डीओ-२२८’ जहाज छन् । कम्पनीका वरिष्ठ महाप्रवन्धक घनश्याम राज आचार्यका अनुसार सबै जहाजमा आयु (उडान-अवतरणको संख्या र उडान अवधि) तोकिएको छ र त्यो पुरा नभएसम्म चल्छन् । त्यसपछि भने जहाजलाई कबाडीमा बेच्नु पर्छ वा अन्य प्रयोजनमा प्रयोग गर्नुपर्छ ।
गुण एयरलाइन्ससँग भएको जेटस्ट्रीम जहाज पनि तीन दशक पहिला नै निर्माण भएका हुन् । बि्रटिस एरोस्पेसले सन् १९९२ मा खरीद गरेका यी जहाज यतिले १९९८ मा नेपाल भित्राएको हो । यतिबाट लिएर अहिले गुणले उडाइरहेको छ । गुणले यसअघि सिमि्रक एयरलाइन्सले उडाइरहेका बीचक्राफ्ट १९०० जहाज समेत सन्चालनमा ल्याएको छ । यी मोडेलका जहाज समेत १९८२-२००२ सम्म मात्र भएको हो । त्यसपछि उत्पादन नै बन्द भयो ।
बुद्ध एयरसँग पनि दुई दशक पुराना जहाज
बुद्ध एयरसँग पनि साढे २ दशक पुराना जहाज छन्, यो एटीआर ४२ सिरिजको जहाज हो । सबैभन्दा पछिल्लो पुस्तको जहाज भने एटीआर ७२ मा भित्राइएको छ । यो सन् २०१० मा बनेको थियो । यो जहाज बुद्धले यसै वर्ष नेपाल ल्याएको हो ।

