चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आज यहाँ रक्तदान कार्यक्रम ५२ जनाले रक्तदान गरेका छन् । महासङ्घले ७१औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन र पत्रकारहरूसँगको सम्बन्धसँगै रक्तदानको महत्त्वका बारेमा प्रकाश पारे । पत्रकार महासङ्घका केन्द्रीय सदस्य नारायण अधिकारीले महासङ्घको स्थापनादेखि हालसम्म प्रेस एवं अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाका लागि महासङ्घले गर्दै आएका कामका बारेमा प्रकाश पारे ।
महासङ्घका जिल्ला अध्यक्ष वसन्त पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे, पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरेलगायतले महासङ्घको स्थापना दिवसको शुभकामनासँगै रक्तदान गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीलगायत पत्रकारसँग आबद्ध विभिन्न सङ्घ सङ्गठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, सदस्य एवं पत्रकारहरूको सहभागिता रहेको थियो ।

