पोखरा । पोखरा, लुम्बिनी र चितवनलाई “सिल्भर ट्रयाङ्गल” का रूपमा अघि बढाउनुपर्नेमा आइतबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिनु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशसँगको सहकार्यमा आयोजना गरेको अन्तरसम्बन्ध कार्यक्रममा वक्ताहरूले पोखरा, लुम्बिनी र चितवनलाई “सिल्भर ट्रयाङ्गल” का रूपमा अघि बढाउनुपर्नेमा जोड दिनु भएको हो ।
काठमाडौँ, पोखरा र चितवनलाई समेटेर “गोल्डेन ट्रयाङ्गल” को रुपमा चर्चा हुँदै आएको सन्दर्भमा पोखरा, लुम्बिनी र चितवनलाई “सिल्भर ट्रयाङ्गल” का रुपमा यस क्षेत्रमा भएका पर्यटकीय गन्तव्य र आकर्षणका केन्द्रहरूको एक आपसमा प्रबद्र्धन गर्ने र समन्वय गर्न सके तीन क्षेत्रकै विकास हुने बताइएको हो । तीन प्रमुख पर्यटकीय गन्तव्यलाई एकीकृत रूपमा विकास गरी पर्यटन प्रवद्र्धनमा नयाँ गति दिन सकिने वक्ताहरूले धारणा व्यक्त गर्नु भएको छ । पर्यटन व्यवसायी सहित पोखरा र लुम्बिनी प्रदेशका सञ्चारकर्मीहरूसँग यस अवधारणामाथि व्यापक छलफल गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले विगतमा काठमाडौँ, पोखरा र चितवनलाई समेटेर “गोल्डेन ट्रयाङ्गल” को अवधारणा सफल भएको स्मरण गर्दै अब पोखरा, लुम्बिनी र चितवनलाई “सिल्भर ट्रयाङ्गल” का रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । पोखरालाई पर्यटनको मुख्य ‘हब’ बनाउँदै लुम्बिनी र चितवनसँग जोडेर पर्यटक आवागमन, व्यावसायिक सहकार्य र प्रवर्द्धनात्मक गतिविधि विस्तार गर्न सकिने उहाँले सुझाव दिनुभयो ।
होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले द्वन्द्वकालपछि घटेको पर्यटक आगमनलाई पुनः वृद्धि गर्न “जाऊँ है पोखरा” अभियान सञ्चालन गरिएको जानकारी दिँदै सिल्भर ट्रयाङ्गल अवधारणा पनि त्यत्तिकै प्रभावकारी हुन सक्ने दाबी गर्नुभयो । उहाँले बुटवल–पोखरा सडकलाई फास्ट ट्र्याकका रूपमा विकास गर्न सके लुम्बिनी र पोखराको पर्यटनमा थप सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले पूर्व र पश्चिम नेपाललाई समेटेर पर्यटन प्रवद्र्धनका अभियानहरू सञ्चालन गरिँदै आएको स्मरण गराउँदै लुम्बिनी क्षेत्रका सञ्चारकर्मीहरूको पोखरा भ्रमणलाई सकारात्मक सङ्केतका रूपमा व्याख्या गर्नुभयो । यही चैत २९ देखि बैशाख १ गतेसम्म आयोजना हुने २१औँ फेवा नववर्ष महोत्सवमा आउने पाहुनालाई सङ्घअन्तर्गतका होटेलहरूले विशेष छुट प्रदान गर्ने जानकारी पनि उहाँले दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी र पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले पोखरा सहित मुख्य ३ पर्यटकीय गन्तव्यलाई जोड्न सके तीन क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताउनु भयो ।

