चितवन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले चितवन क्षेत्र नं. ३ बाट रेनु दाहाललाई विजयी गराउन ५ हजार १ सय सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको जनाएको छ । पार्टीको हालै पटिहानीमा बसेको बैठकले पार्टीका वरिष्ठ केन्द्रीय सदस्य ईश्वरी भट्टराईको संयोजकत्वमा ५ हजार १ सय सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको हो ।
बैठकले पार्टीका चितवनका संयोजक रामचन्द्र अधिकारीको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति, केन्द्रीय सदस्य बुद्धि नेपालीको संयोजकत्वमा सूचना प्रविधि परिचालन उपसमिति, लेखा आयोगका केन्द्रीय सदस्य नारायण आचार्यको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति तथा केन्द्रीय सदस्य ईश्वरी भट्टराईकै संयोजकत्वमा घोषणापत्र लेखन उपसमिति गठन गरेको सो पार्टीले जनाएको हो ।
यसका साथै युवा–विद्यार्थी परिचालन, महिला परिचालन, जनवर्गीय संगठन तथा जातीय मुक्ति मोर्चा उपसमितिलगायत अन्य उपसमितिहरू पनि गठन गरिएको जनाइएको छ । चितवन क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिकाका १९ वडा वडाहरु तथा माडी नगरपालिकाका ९ वटा वडाहरु पर्दछन् ।

