गोरखा । भिमसेन थापा गाउँपालिका–६ का किसानले आकाशे फाँटमा सामूहिक आलु खेती सुरु गरेका छन् ।
स्थानीय शिवालय कृषक समूहमा आबद्ध १५ जना किसान मिलेर कुल ३० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा आलु रोपेका हुन् ।
समूहका अध्यक्ष पदम बहादुर घिमिरेका अनुसार, व्यावसायिक कृषिलाई प्रवर्द्धन गर्ने र कृषि पेसालाई थप आकर्षक बनाउन यस पहल सुरु गरिएको हो । “पहिले हामीले पाँच–सात किलो आलु लगाएर व्यक्तिगत प्रयोगका लागि मात्रै खेती गर्थ्यौँ” उहाँले भन्नुभयो, “तर खेतबारी बाँझो हुँदै गयो र धेरैले खेती छोडे । यस्तो अवस्थामा सबै मिलेर सामूहिक खेती गर्ने निष्कर्षमा पुग्यौ।” त्यसअनुसार ११ जनाको जग्गा एकीकृत गरी आलु रोपिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
१५ जना किसानले सामूहिक रूपमा खनजोत गरी आलु रोपेका छन् । समूहका कृषक अमृता बोहोरा बयलकोटीले भन्नुभयो, ‘“घरमा बसेर मोबाइल चलाउनेभन्दा केही काम गरियो भने मन प्रसन्न हुन्छ । यसबाट थोरै आम्दानी भए घर खर्च चलाउन सजिलो हुन्छ ।”
उक्त क्षेत्रमा बाँदरको समस्या निकै रहेकोले किसानले व्यक्तिगत रूपमा खेती गर्न सक्ने अवस्था छैन । समूहका सदस्य यामप्रसाद लामिछानेले भन्नुभयो, “केहीले व्यक्तिगत रूपमा आलु, गहुँ, तोरी रोपे भने बाँदरले सबै नष्ट गर्छ, तर सबै मिलेर रोप्यौँ भने जोगाउन सकिन्छ भन्ने आशा छ ।”
हाल आलु उम्रन सुरु भएको छ । अध्यक्ष घिमिरेका अनुसार, पालो प्रणालीमा दैनिक ३–३ जनाले रेखदेख गर्दै आएका छन् । आलु उम्रिएसँगै गोडमेल, मल खाद र औषधी उपचार पनि मिलेर गर्ने योजना बनाइएको छ । आलु बिउ कृषि विकास कार्यालय गोरखाबाट उपलब्ध गराएको छ भने अन्य लगानी किसानहरूले आफैँ गरेका छन् । डडुवा रोगको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाबाट प्राविधिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ ।
गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले व्यावसायिक कृषिलाई जोड्ने आफ्नो नीति अनुसार किसानलाई आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हाम्रो गाउँपालिका, एफएओ र स्वाँरा सघन गाउँ विकासको साझेदारीमा खाद्य सुरक्षा कार्यक्रम गरेका थियौँ, यसअनुरूप किसानहरूलाई रैथाने बाली प्रवर्द्धन र व्यवसायीकरण बारे अभिमुखीकरण गरिएको थियो । त्यसपछि उनीहरू उत्साहित भएर सामूहिक आलु खेती सुरु गर्नुभयो, यो सराहनीय काम हो ।”
भिमसेन थापा गाउँपालिकाले एक वडा–एक उत्पादन पकेट, एक वडा–एक सङ्कलन केन्द्र, एक वडा–एक पोषण कर्नर, एक वडा–एक कस्टम हाइरिङ सेन्टर र एक वडा–एक उद्योग सञ्चालन गर्ने नीति लिएको छ । अध्यक्ष बञ्जराका अनुसार, कोल्ड स्टोर, हाटबजार, प्रशोधन, प्याकिङ, ब्राण्डिङ र बजारीकरणका लागि गाउँपालिकाले समन्वय गर्नेछ ।
“उत्पादन भइसकेपछि भण्डारणमा सहयोग, कृषि एम्बुलेन्स सेवा, प्राविधिक सहयोग र उत्पादनमा आधारित अनुदान उपलब्ध गराइनेछ”, बञ्जराले भन्नुभयो । प्रशोधनका लागि प्रस्ताव आएमा पनि आवश्यक सहयोग र समन्वय गरिने छ । रैथाने बाली प्रवर्द्धन र पौष्टिक खाद्यान्नको प्रयोग सर्वसाधारणमा बढाउने यस पहलको भूमिका महत्त्वपूर्ण रहने अध्यक्ष बञ्जराको विश्वास छ । उक्त पहलले अन्य किसानलाई पनि उत्प्रेरणा दिने अपेक्षा गरिएको छ ।

