चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आठ वर्षमा योजनाअनुसारको काम गरेको दाबी गरेकी छिन् । स्थानीय तहले गर्नुपर्ने विकासका विषयमा बोलेर भन्दा पनि काम गरेरै जनताको मन जित्न सफल भएको उनको दाबी छ । सुनौलो नेपालले भरतपुरमा आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’मा बोल्दै मेयर दाहालले जनप्रतिनिधिहरुको प्रतिबद्धता व्यवहारमै देखिनु पर्ने बताइन्।
मेयर दाहालले साझा उद्देश्यले काम गर्दा जनताको साथ र सहयोग पाएको समेत बताएकी छिन्। केही वर्षयता भरतपुरले भौतिक, सामाजिक र आर्थिक विकासमा उल्लेखनीय फड्को मारेको उनले दाबी गरिन्। ‘सडक विस्तार, स्वास्थ्य, शिक्षा, सरसफाइ, खानेपानी, ढल व्यवस्थापन, पार्क तथा हरियाली प्रवर्द्धन, डिजिटल सेवा र सुशासनका क्षेत्रमा महानगरपालिकाले उल्लेखनीय काम गरेको छ,’ उनले भनिन्, ‘अझ भरतपुरलाई व्यवस्थित, सफा र स्मार्ट सहर बनाउने लक्ष्यका साथ दीर्घकालीन योजना अघि बढाइएको छ।’
निजी क्षेत्र, विकास साझेदार र नागरिक समाजसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माणमा महानगरपालिका लागि परेको समेत उनको भनाइ छ। हालको मेयर पद छाडेर सङ्घीय निर्वाचनमा होमिने तयारी गरेकी मेयर दाहालले पदको लागिभन्दा पनि माथिल्लो तहमा गएर योगदान दिने हुटहुटी रहेको बताइन्। ‘स्थानीय तहमा रहेर जति काम गर्न सकेँ, माथिल्लो तहमा गएर अझ ठूलो जिम्मेवारीका साथ काम गर्ने लक्ष्य छ ।’

